बिचार

आत्मामा बिराजमान ईश्वर बोक्ने शरीरको पूजा ‘म्हः पूजा’

नेपालीहरुको दोस्रो ठूलो चाड (तिहार) यमपञ्चकको पाँच दिन मानव जीवन र प्रकृति अनि चराचर जगतका प्राणी र जीवजन्तुको महत्व दर्शाउने पर्व हो । मानव समाज भौतिक वस्तुको प्राप्तिले मात्र सुखी र खुसी अनि सुरक्षित रहन सक्दैन भन्ने सन्देश नै तिहार हो ।

तिहारमा काग, पशुका रुपमा कुकुर, गाई, गोरुको पूजा गरिन्छ । यसको आफ्नै मौलिक विशेषता छ । किन कागलाई पूजा गरियो, परेवालाई किन गरिएन ? कुकुरको साटो बिरालोलाई किन गरिएन वा गाईको साटो भैंसीको पूजा किन गरिएन भन्ने प्रश्न उठ्न सक्छ । तर यी पक्षी र पशु मानव समुदायका लागि कति आवश्यक छन् भन्ने हेर्ने हो भने यिनको संरक्षणको आवश्यकताबोध हुन्छ । अनि यिनको पूजा गरिन्छ । यी पक्षी र जनावर मानवरक्षामा सक्रिय हुन्छन् । त्यसैले रक्षकको पूजा गर्नु स्वाभाविक हो ।

तिहारमा हामीले पशुपक्षीदेखि स्वयं आफ्नो समेत पूजा गर्दछौं । भाइटीका दिन दिदी बहिनीले दाजुभाइको पूजा गरेर दीर्घायूको कामना गर्दछन् भने यसअघि हाम्रा लागि नभै नहुने वातावरणा तयार गर्ने काग, कुकुर, गाई गोरु गोबद्र्धन पूजा गरिन्छ ।

तिहारको अर्को मौलिक विशेषता छ– नेवार समुदायले गर्ने म्हः पूजा । म्हःपूजा भनेको आफ्नो पूजा गर्नु हो । शास्त्रले मानिसको आत्मालाई ईश्वर मान्छ र आत्मा बोक्ने शरीर परमात्मा हो भनिन्छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि शरीरमा चोटपटक नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । यो पूजा देवता र पशुपक्षीलाई पनि गर्ने चलन छ । तिहारको चौथो दिन अर्थात् कार्तिक शुल्क प्रतिपदा नेवार समुदायको नयाँ वर्ष पनि हो ।

सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास शरीरभित्रै हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्वदन्ती अनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।

कसरी गरिन्छ म्हः पूजा

यो पूजा गर्न सर्वप्रथम घरको बुइङ्गलमा अथवा कुनै खुला ठाउँमा पूर्व वा पश्चिम फर्केर बस्ने गरी लामो सुकुल वा लम्पट बिछ्याइन्छ । सबैभन्दा माथि देवताको लागि मण्डल लेखिन्छ र बायाँतिर परिवारका सबै सदस्यका लागि छुट्टाछुट्टै मण्डल लेखिन्छ । यस बाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कुचोको लागि पनि मण्डल बनाइन्छ ।

मण्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भट्मास, मासको गेडा, धान, बेसारले रंगाइएको चामलको पीठो, त्यसपछि पानी र रंगिविरंगी फूलको घेरा हालिन्छ । साथै विभिन्न जातका फलफूल, धुप, जंजंका (यज्ञोपवित) आदि सामग्रीहरुले पनि मण्डल सजाइन्छ ।

यसपछि परिवारका सबै सदस्यहरु आआफ्नो मण्डलको सामुन्ने पलेटी कसेर बस्छन् र परिवारको सबभन्दा जेष्ठ महिला, जसलाई नेवारी भाषामा ‘नकीं’ भनिन्छ,ले दायाँ हात निकाली पछ्यौरा लगाउँछिन् । सुकुन्दा बाल्छिन् अनि पूजाथाल र दही उठाई सबैलाई ढोगाउँछिन् ।

त्यसपछि एउटा हातमा फूल लिई दही निकालेर पूजाथालमा चामल, फूल र रातो टीका मुछेर सूर्यरुपी सुकुन्दा र गणेशको पूजा गरेर सो टीका र जजंका लगाइदिन्छिन् । त्यस्तै कलश, नाङ्लो र कुचोको पनि पूजा गर्छिन् । अनि आफूले टीका लगाएर लहरै सबैलाई पहेंलो, रातो सिम्रिक र दही मुछेको टीका लगाइदिन्छिन् ।

त्यसपछि सबैले आआफ्नो मण्डल आफैंले पूजा गर्छन् अनि माथि, तल, अगाडि, पछाडि, टाउकोमाथि आकाशमा पूजा गर्छन् । कपडाको बत्ती (खेलु इताः) मण्डलमाथि बालिन्छ । बालिएको दिप्तमान भइरहेको मण्डलको पूजा गरी नकींले भाग राखेको अक्षताले पूजा गरी सबैलाई दिन्छिन् । यसलाई ‘सिसगं’ भनिन्छ । सबैले यसमा भएको जजंका, फलफूल र फूल लगाउँछन् ।

सिसगंपछि तयार गरेर राखेको सगुन, जसमा अण्डा, बारा, माछा, मासु र रक्सी आदि सबैलाई पालैपालो दिइन्छ । सबैले एकैपटक सगुन जुठो हाल्नुपर्छ । यसबेला सबै सानाले ठूलालाई ढोग्ने चलन छ । सगुन सकिएपछि दही, चाक्सी र केरा मिसाएर सबैलाई खान दिइन्छ, जसलाई द्यैमु भनिन्छ । अन्तमा नकींले लक्ष्मी भित्र पाल्नुस् भनी माथिदेखि तलसम्मको मन्ड सबै बढारेर म्हःपूजा समापन गर्छिन् ।

यो पूजाको मूलभूत पक्ष भनेको स्वस्थ भएमा मात्र कर्म गर्न सकिन्छ, शभक्ति प्रेम भैरहन्छ, बुद्धि प्रयोग गर्न सक्छ अनि सधैं आनन्दपूर्वक हँसिलो भैरहन्छ भन्ने हो । यो चलन विश्वमा नेपालको नेवारी समुदायमा मात्र छ ।

जसले जसरी मनाए पनि म्हःपूजा नेपालको मौलिक सांस्कृतिक–धार्मिक पर्व हो । यी पर्वहरु र यसलाई मनाउने बिािध हरेक समुदायको आआफ्नै भए पनि यसको विशेषता एउटै छ– मानव मात्रको शान्ति र कल्याण । तिहारको पाँच दिन सुरक्षा, सुख, शान्ति, समृद्धि र दीर्घजीवनका लागि मनाइन्छ ।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वासका साथ मनाइने म्हः पूजा नेपालको मौलिक संस्कृतिका साथै मानव कल्याणमा प्रेरित र समर्पित गर्ने पर्व पनि हो । सबैमा म्हः पूजाका साथै भाइटीकाको मंगलमय शुभकामना !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.