आम निर्वाचन २०७९

राप्ती तटीय क्षेत्रका बासिन्दाको भोट डुबान र कटान समाधान गर्नेलाई

हरेक वर्ष डुबानबाट पीडित बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दाले डुबान र कटान समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् ।

बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका उनीहरुले भोट माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन माग गर्दै आएका छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि भोट माग्न गाउँबस्ती पुग्ने राजनीतिक दलका उम्मेदवारबाट चुनावको बेला आश्वासन पाउने गरे पनि समस्या समाधान नभएको उनीहरुको गुनासो छ ।

“बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई भोट दिने विचार गरेका छौँ”, डुडुवा गाउँपालिका–१ होलिया निवासी राजकुमार शुक्लाले भन्नुभयो, “हामी राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित छौँ तर अहिलेसम्म सरकारले समस्याको समाधानका लागि पहल गरेको छैन ।”

लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिवसमेत रहनुभएका शुक्लाले अहिले चुनावको बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि सांसदहरु फर्केर गाउँ नजाने गरेको गुनासो गर्नुभयो ।

बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको पीडा झेल्दै आएका छन् ।

लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव शुक्लाका अनुसार बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ क्षेत्रका झन्डै पाँच हजार घरधुरीका करिब २४ हजार नागरिक बाढीबाट प्रभावित हुने गरेका छन् ।

निर्वाचनमा सबैजसो दलले आफ्नो प्रतिबद्धता पत्रमा राप्ती तटीय क्षेत्रमा हुँदै आएको डुबान तथा कटान नियन्त्रण गर्ने उल्लेख गरेका छन् । तर कार्यान्वयनमा भने चुनौती देखिँदै आएको छ ।

राप्ती नदी र डुडुवा खोलाले डुडुवा गाउँपालिकाका विभिन्न वडामा खेतीयोग्य जमिन कटान र बस्ती बर्सेनि डुबान हुने समस्याको दिगो समाधान गर्ने गरी आफूले योजना बनाएको बाँके क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताउनुभयो ।

उहाँले थोरै बजेटबाट तटबन्ध कार्य सम्भव नहुने भएकाले प्रदेश र केन्द्रीय सरकारसँग समन्वयका आधारमा काम गर्न सके डुबान र कटानबाट हुने क्षति न्यून गर्न सकिने दाबी गर्नुभयो ।

सत्तारूढ गठबन्धनबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका नेता एवम् युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनतालाई डुबान र कटानको समस्याबाट जोगाउन तटबन्ध गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दासमेत पीडित हुँदै आएका छन् ।

राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका लालबहादुर थापाले बितेको ५ वर्षमा यो क्षेत्रबाट जितेका जनप्रतिनिधिले बाढीपीडितको समस्या समाधानका लागि काम गर्न नसकेकाले यो निर्वाचनमा जनताको काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.