काठमाडौंमा जारी आईसीसी टी २० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र ओमानबीच आइतबार बिहान ११ बजे प्रतिस्पर्धा हुँदैछ ।
सेमिफाइनल जितेर अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गरेका दुई टोलीबीचको फाइनल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी २० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक ग्लोबल क्वालिफायरको सट्टा क्षेत्रीय छनोट प्रतियोगिताहरु मात्र आयोजना हुँदा एसियाबाट दुई टोलीले मात्र टी २० विश्वकपमा छनोट हुने प्रावधान थियो । त्यसका लागि एसिया छनोटको सेमिफाइनल जित्दै फाइनल पुग्ने टिम मात्र छनोट भएका हुन् ।
गत वर्ष ओमानमै भएको टी २० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए ।
यसपटक घरेलु मैदानबाटै विश्वकपको यात्रा तय गर्दा नेपालले गत वर्ष सेमिफाइनलमै यूएईसँग बेहोरेको हारको मिठो बदला लियो ।
२०१४ मा बंगलादेशमा टी २० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो । उता ओमान भने २०२१ पछि टी २० विश्वकपमा छनोट भएको हो ।
यस पटक एसिया छनोटमा नेपाल र ओमान एउटै समूहमा थिए । समूह ए मा रहेका यी दुई टोलीबीच रोमाञ्चक खेल हुँदा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।
त्रिवि मैदानमै भएको उक्त खेलमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सकेको थियो ।
टी २० विश्वकपमा स्थान पक्का गरिसकेकोले नेपाल र ओमान दुवैका लागि फाइनलमा कुनै दबाब हुने छैन । तर दुवै टोली फाइनल जित्दै आफ्नो प्रभाव देखाउन चाहन्छ ।
नेपाल र ओमानबीच अहिलेसम्म भएको टी २० आई खेलमा नेपाल अघि छ । अहिलेसम्म यी दुई टोलीबीच पाँच टी २० आई खेल हुँदा नेपालले तीन खेल जितेको छ भने ओमानले दुई खेल मात्र जितेको छ ।
प्रतिक्रिया राख्नुहोस्