काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नुभएको छ ।
पाँचखाल नगरमा निस्कने कुहिले फोहर सङ्कलन तथा गोबर सुली, पातपतिङ्गरको प्रयोगबाट जापानिज प्रविधिद्वारा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको हो ।
केन्द्रले नेपाल सरकारको मापदण्डअनुसार जापानिज प्रविधि (सिएनबीएम)मा मल उत्पादन गरिने रिकिशी कम्पोस्ट प्रालिको प्रबन्ध निर्देशक उषा गिरीले बताउनुभयो ।
उहाँले कार्बन, नाइट्रोजन, मिनरल्स् र ब्याक्टेरियाको समिष्रणबाट प्राङ्गारिक मल उत्पादन हुने जानकारी दिनुभयो । “ती मिष्रणबाट बनेको मलले माटोलाई खुकुलो बनाउनुका साथै माटोलाई बिरुवाका लागि आवश्यक सबैखाले पोषकतत्व पुग्ने छ”, गिरीले भन्नुभयो ।
प्राङ्गारिक मल उत्पादनका लागि नगरमार्फत नकुहिने फोहर तथा जङ्गलका पातपतिङ्गर व्यवस्थापनमा सहयोग पुगे केन्द्रले कृषकलाई मल कसरी वितरण गर्नेबारे थप छलफल गर्ने जनाएको छ ।
“हामी मागअनुसार पर्याप्त मल उत्पादन गर्न सक्छौँ, यसका लागि नगरको समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार जापानस्थित ग्रीन यामाकाजी कम्पोस्ट प्रालिको सिएनबीएम प्रविधिमा पाँचखालमा प्राङ्गारिक मल उत्पादन थालिएको हो । केन्द्रले स्थानीय कृषकलाई उक्त मलबारे शिक्षा, तालिम र चेतना तथा प्राविधिक र परामर्श सेवा प्रदान गरिने जनाएको छ ।
रासायनिक मलको अभावमा पर्याप्त कृषिउपज उत्पादन गर्न कठिनाइ भएको समयमा केन्द्रको स्थापनाले कृषकलाई निकै राहत पुग्ने खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरले फोहर सङ्कलन तथा अन्य आवश्यक समन्वय र सहयोग गर्नेछ ।” उहाँले प्रयोग गरी स्थानीय कृषकलाई ‘डेमोस्ट्रेसन’ गर्न सुझाव दिनुभएको छ ।
यसअघि लभग्रीन नेपाल नामक संस्थाले एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपीएम) कृषक पाठशालामा पाँचखाल नगरका करिब एक हजार अगुवा कृषकलाई विभिन्न चरणमा १८ महिना घरमै जैविक विषादी तथा कम्पोस्ट मल बनाउने विधि अध्ययन गराएको थियो ।
उक्त संस्थाले केही वर्षदेखि पाँचखालमा आइपीएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालिम दिँदै आएको छ भने तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्राङ्गारिक कृषि उत्पादनतर्फ लैजान निरन्तर प्रयासरत छ ।
यसैबीच पाँचखालका कृषकलाई प्रयोगशाला (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपीआर ल्याब)मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा अपिल गर्दै आइएको छ ।
केन्द्रमा करिब दुई वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण हुँदै पनि आएको छ । सङ्कलित नमूनाको विषाद रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ ।
परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको हालसम्मको परीक्षण प्रतिवेदनले देखाएको जनाइएको छ ।
बागमती प्रदेशको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा चार–पाँच दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्ति कृषिउपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्