राजस्व सङ्कलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुसँगको मंगलबारको बैठकमा अर्थमन्त्री पौडेलले औषतभन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिनुभएको हो ।
सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताउनुभयो ।
संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व सङ्कलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मीलगायत अन्तर निकायसँग समन्वय गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजस्व सङ्कलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ ‘एक्सन’ लिन पनि उहाँले निर्देशन दिनुभएको जनाएको छ ।
अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताउनुभयो । बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्