प्रचारप्रसारमा टोपी प्रयोग- प्रचण्ड, नारायणकाजी र रविलाई आयोगको प्रश्न
निर्वाचन आयोगले चुनाव प्रचारका क्रममा टोपी प्रयोग गरेकामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।
अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडाको सङ्केत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो ।
यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।
प्रचारप्रसारमा बालबालिका प्रयोगबारे स्पष्टीकरण
आयोगले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)का तर्फबाट प्रदेशसभा सदस्यका दाङ क्षेत्र नं ३ (२) का उम्मेदवार हुकुमबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्यका झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरणपत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिह्न अङ्कित पम्प्लेट लिई वितरण गर्न हिँडिरहेको देखिने सामग्री सङ्लग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटोसमेतको सामग्री आयोगमा प्राप्त भएको तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्यदृश्य सामग्री सङ्लग्न गरी आयोगमा उजुरी प्राप्त भएको उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्