बझाङका भूकम्पपीडितको बास बनाउन सक्रिय ऐडी
गत असोज महिनामा बझाङमा गएको भूकम्पबाट सयौं घरबारविहीन भए । सरकारले तत्काल बासको व्यवस्था गर्ने भन्दै घोषणा गर्यो । प्रधानमन्त्रीदेखि भिआईपीहरुको लर्को त्यहाँ पुग्यो ।
केही दिन नेताहरुलाई भ्रमणको मेलोमेसो बन्यो । तर, चीसो बढ्दै जाँदा पीडितहरुले टाउको लुकाउने त्रिपाल समेत पाउन सकेका छैनन् राज्यका तर्फबाट ।
सरकारले सहयोग र राहतको घोषणा गरे पनि त्यो घोषणामै सीमित रहेपछि नेपाल तरूण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको टोली यतिबेला टहरा निर्माणमा निरन्तर खटिएको छ ।
भूकम्पले घर भत्केर खुल्ला आकाशमा रात बिताउन बाध्य अति पीडितका लागि टहरा निर्माणमा जुटेको छ ऐडीको टोली । दशैंअगावै टहरा निर्माण गर्न सुरु गरेको ऐडीको टोलीले फेरि टहरा निर्माणमा जुटेको हो । उहाँको टोलीले दर्जनभन्दा बढी अस्थायी टहरा निर्माण गरिसकेको छ ।
“गाउँमा सरकारको उपस्थिति नै छैन जस्तो भएको छ,” ऐडीले भन्नुभयो, “हरेक गाउँको अवस्था चौपट छ । हुनेखानेले आफ्नो व्यवस्था गरिसकेका छन् । कोही नहुनेलाई रोग, शोक, विपद्ले ठगिरहेको छ । त्यस्तै पीडितहरूको घाउमा मल्हम लगाउन हामीले टहरा बनाइरहेका छौँ ।”
प्रतिक्रिया राख्नुहोस्