विश्व समाचार

हिन्द–प्रशान्त क्षेत्रका लागि भारत–अमेरिका साझेदारी महत्त्वपूर्ण– राजनाथ सिंह

भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्नका लागि भारत–अमेरिका साझेदारीले प्रमुखता पाएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “उदीयमान विभिन्न चुनौती भए पनि हामीले प्रमुख र दीर्घकालीन मुद्दाहरूमा हाम्रो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ, हाम्रो साझेदारी स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्न यो महत्त्वपूर्ण छ” ।

“हामी क्षमताका क्षेत्र तथा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने साझेदारीका लागि अमेरिकासँग निकट रहेर काम गर्न तत्पर छौँ, म आज आकर्षक र समृद्ध छलफलका लागि तयार छु ।”

भारत–अमेरिका (दुई जोड दुई) मन्त्रिस्तरीय वार्ताको प्रारम्भमा मन्त्री सिंहले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनलाई स्वागत गर्दै भारत–अमेरिका सम्बन्ध विस्तार हुँदै गएको बताउनुभयो ।

“भारत–अमेरिका द्विपक्षीय सम्बन्धमा रणनीतिक चासो विस्तार भएको छ भने रक्षा, सुरक्षा तथा जासुसी सहयोगमा सुधार भएको देखिएको छ”, उहाँले भन्नुभयो, “रक्षा हाम्रो द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक हो, भारत र अमेरिका पहिलाभन्दा धेरै नै नजिक भएको बेला तपाईंहरूको भारत भ्रमण भइरहेको छ ।”

अमेरिकी रक्षामन्त्री अस्टिनले गत वर्ष भारत र अमेरिकाले रक्षा साझेदारी निर्माणमा ‘प्रभावशाली लाभहरू’ हासिल गरेको बताउनुभयो । उहाँले भारत र अमेरिकाले विचार आदानप्रदान गर्न, साझा लक्ष्य खोज्न र तत्काल वैश्विक चुनौतीहरूको सामना गर्दै दुवै मुलुकका जनताका लागि काम गर्न यो ‘महत्त्वपूर्ण’ भएको बताउनुभयो ।

“हामीले ठूलो गतिको समयमा भेट गरिरहेका छौँ, तात्कालिक वैश्विक चुनौतीहरूका बीच अमेरिका र भारतबीचको साझेदारी विश्वका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक विचारहरूको आदानप्रदान गर्न, साझा लक्ष्यहरू खोज्न र आफ्ना जनताका लागि काम गर्न पहिलाको तुलनामा धेरै नै महत्त्वपूर्ण छ”।

उहाँले भन्नुभयो, “हामीले गत वर्ष आफ्ना प्रमुख रक्षा साझेदारीको निर्माणमा प्रभावशाली लाभ हासिल गरेका छौँ र यसबाट हामीलाई शान्ति र स्थिरताका लागि अझ धेरै योगदान पुर्याउन सहयोग प्राप्त हुनेछ ।”

उहाँले भारत–अमेरिका सहयोगको दायरा अत्यन्त ठूलो भएको बताउनुभयो । अमेरिका–भारत साझेदारीको बल जनता–जनताबीचको सम्बन्धमा निहित रहेको भन्दै यो दुई मुलुकबीचको मित्रताको मुटु भएकामा उहाँले जोड दिनुभयो ।

दुई जोड दुई मन्त्रिस्तरीय वार्तामा सहभागी हुन अमेरिकी रक्षामन्त्री अस्टिन र विदेशमन्त्री ब्लिङ्केन नयाँदिल्ली आइपुग्नुभएको छ । यो सन् २०१८ देखि प्रत्येक वर्ष आयोजना हुने कूटनीतिक शिखर सम्मेलन हो । यसमा दुवै मुलुकका विदेशमन्त्री र रक्षामन्त्रीले प्रतिनिधित्व गर्नुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.