कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु फाल्गुनन्द
किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराउनुभएको थियो ।
समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज देशभर मनाइँदैछ । सरकारले २०६६ साल मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उहाँको जन्म १९४२ साल कात्तिक २५ गते इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङको चुम्चिनाम्बामा भएको थियो । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा उहाँको निधन भएको हो ।
महागुरु फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तानका रूपमा भएको थियो । उहाँ आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी हुनुभएको थियो ।
न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उहाँ बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती हुनुभएको थियो । बेलायती सेनामा केही वर्ष काम गरेपछि फाल्गुनन्दले युद्धप्रति वितृष्णा जागेको भन्दै सेनाको जागिर त्यागिदिनुभएको थियो । जागिर छाडेर उहाँ अहिंसा र किराँत धर्मको प्रचार गर्दै नेपाल, भारत र भूटानसम्म पुग्नुभएको थियो ।
किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमका अनुसार किराँत धर्मावलम्बीहरूले उहाँलाई पृथ्वीलोकमा धर्म प्रचार र मुक्तिका लागि ईश्वरीय प्रतिनिधि ९देवदूत०का रूपमा सम्मान गर्छन् ।
उहाँका अनुसार महागुरु फाल्गुनन्दले १९८८ साल वैशाख २५ गते दश लिम्बू र १७ थुमका अगुवा व्यक्तित्वहरूलाई पाँचथरको लेबे्रकुटीमा एकत्रित गराएर ‘सत्य हाङ्मा मुचुल्का’ गराउनुभएको थियो । उक्त १० बुँदे मुचुल्कालाई फाल्गुनन्दको धार्मिक सन्देशका रूपमा मानिन्छ ।
तत्कालीन लिम्बूवान क्षेत्रका सबै अग्रजहरूले सहीछाप गरेको उक्त मुचुल्का नौ हात लामो काँचो कागजमा लेखिएको र त्यसको प्रतिलिपि सुरक्षित राखिएको अध्यक्ष थेगिम बताउनुहुन्छ ।
किराँती समुदायमा जन्म, मृत्यु, विवाह र उत्सवहरूमा भेला हुँदा अत्यधिक मदिरा र मासु खुवाउने उसबेलै चलन थियो । पशुको काटमारले मानिसमा हिंस्रक प्रवृत्ति र मदिराको अधिक प्रयोगले विकृति बढ्ने महागुरुले निष्कर्ष निकाल्नुभएको उहाँको तर्क छ ।
सामाजिक रीति र संस्कारमा मदिरा, बलि र तडकभडक हटाउन सहज थिएन । त्यहीकारण महागुरुले किराँत समुदायका अग्रजहरूलाई लेब्रेकुटी भेलाको आयोजना गर्नुभएको थियो । भेलाका सबै सहभागीले धर्म मुचुल्कामा राजी भएर सहीछाप गरेका थिए ।
महागुरु फाल्गुनन्द किराँत वेद ‘मुन्धुम’को ज्ञाता हुनुहुन्थ्यो । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले प्रतिपादन गर्नुभएको धर्म मुचुल्कामा किराँतीहरूले मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गर्नुपर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिनदिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नुपर्ने, सिरिजङ्गा लिपि प्रचलनमा ल्याउनुपर्नेलगायत सामाजिक सुधारका नीतिहरू समावेश भएका छन् ।
नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने उहाँको सन्देश लैङ्गिक समानताका लागि उल्लेखनीय योगदान मानिन्छ । किराँती समुदायमा आज पनि महिला सशक्तीकरणको अवस्था सराहनीय छ ।
महागुरु फाल्गुनन्दको सम्मानमा सरकारले २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशित गरेको थियो । विसं २०७२ देखि फाल्गुनन्द जन्मजयन्तीका अवसरमा सरकारले किराँत धर्मावलम्बीका लागि बिदा दिन थालेको हो ।
झापाको दमक, मेचीनगर, शिवसताक्षी र अर्जुनधारा, बुद्धशान्ति, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङलगायत पालिकाले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा विगतदेखि नै सार्वजनिक बिदा दिने गरेका छन् । मुलुकभित्र र बाहिर फाल्गुनन्दको सयाँै सालिक स्थापना भइसकेका छन् ।
विश्वबन्धुत्व र अहिंसाका महान् तपस्वी किराँत धर्मगुरु फाल्गुनन्दको धार्मिक सन्देशलाई विश्वभर फैलाउने कार्यमा उहाँका नाति धर्मगुरु आत्मानन्द लिङ्देनले हाल अगुवाइ गरिरहनुभएको छ ।
इलामको माङ्सेबुङस्थित लारुम्बामा धर्मगुरु आत्मानन्द लिङ्देनले स्थापना गर्नुभएको माङ्हिम अहिले किराँत धार्मिकस्थलको रूपमा प्रसिद्ध छ । पाँचथरको लेब्रेकुटी, सिलौटीलगायत स्थान फाल्गुनन्दकै कारण धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित छन् ।
प्रतिक्रिया राख्नुहोस्