सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग (एनपिएल) सम्बन्धमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको एनपिएलबारे जोरा स्पोर्टस म्यानेजमेन्ट प्रालिको तर्फबाट आमीर अख्तरले रिट निवेदन दायर गरेका थिए ।
क्यान र क्यानको केन्द्रीय समितिलाई विपक्षी बनाइ दायर रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलाको इजलासले आइतबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
अख्तरले एनपिएलको फ्रेन्चाइज १० वर्षका लागि आफूसँग रहेकोले क्यानले एनपिएल आयोजना गर्न नसक्ने दाबी गरेका थिए । अन्तरिम आदेश जारी नहुने आदेशसँगै उक्त रिट निवेदनमा लिखित कारण पेस गर्न भनिएको छ ।
क्यानको आयोजनामा आगामी मंसिर १५ देखि काठमाडौंमा एनपीएल हुँदैछ । एनपिएलमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया राख्नुहोस्