प्रबास

मङ्सिर ८ गते अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै

आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सव डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएको हो ।

नेपाली कला संस्कृति रीतिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचारा बढाउन महोत्सव आयोजना गरिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिनुभयो ।

करिब ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी छ महिना अगाडिबाट गरिएको हो । नेपाली परम्परा, संस्कृति, वेशभूषा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान रहेको उहाँको भनाइ छ ।

यो महोत्सवले देश चिनाउने अवसरसँगै नेपाली समाजलाई एकसुत्रमा बाँध्ने कामका साथै बहुसांस्कृतिक समुदायलाई नेपाली समाजसँग चिरपरिचित गराउन मद्दत गर्ने संयोजक कुँवरले बताउनुभयो ।

“यसपालिको महोत्सवमा अष्ट्रेलियामा बढ्दो पछिल्लो पुस्ता अर्थात यहाँ जन्मेका नेपाली बालबालिकालाई नेपाल के हो भनेर चिनाउने र एकदिन भए पनि नेपाली पोसाकमा सजिएर नेपाली झण्डा बोक्दै म नेपाली हो भनेर चिनाउने मौका पाउँछन्” ।

उहाँले भन्नुभयो, “अष्ट्रेलियाको उच्च राजनीतिक तहमा हाम्रो समुदायको उपस्थिति प्रदर्शन गर्ने यो एउटा गतिलो अवसर हो ।”

कुँवरका अनुसार महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल र चाइनिज गार्डेनमा थप ३५ वटा स्टल रहने छन् । नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, नेपाली खाना ढिँडो, गुन्द्रुक, मःमः सेलरोटीलगायत, नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिने छ ।

यसपालि बागमती हस्तकलाले विशेष ‘ह्याण्डीक्राफ्ट’ प्रदर्शनी गर्ने उहाँको भनाइ छ । महोत्सवको लागत करिब दुई लाख ५० हजार डलर अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.