जन सरोकार

पढ्ने बानी बसाल्न उत्कृष्ट पाठकलाई पुरस्कार

आजभोलि सूचना प्रविधिको व्यापक प्रयोगले पुस्तक पढ्ने बानी हराउँदै गएको छ । पुस्तकको साटो मोबाइलमा आएका जस्तोसुकै सूचना र सन्देशको विश्वास गर्दाँ मानिसको ज्ञानको क्षमता पनि घट्दै गैरहेको छ ।

यस्तोमा कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना रु. १० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतीअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो ।

सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरु मध्येबाट प्रत्येक महिना एकजना पाठकले सो पुरस्कार पाउने भएका हुन् ।

समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताउनुभयो । ‘‘काठमाडौँदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेको छ’’ ।

अर्यालले भन्नुभयो, ‘‘पुस्तकालय आएर गहन विषय अध्ययन गर्न सके असल चरित्र भएको व्यक्तित्व निर्माण हुन्छ ।’’ उहाँले पठन संस्कृति प्रवद्र्धन गर्न शुरुमा एक वर्ष यो कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने बताउनुभयो ।

पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन् । अहिले दैनिक ३० देखि ३५ जना नियमित पाठक रहेको बताइएको छ । २०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ ।

बिदाको दिन बाल कक्षमा बालबालिका रमाउने र पढ्ने व्यवस्था छ । पुस्तकालयमा करिव दुई दर्जन ल्यापटप र कम्प्यूटर रहेको सूचना प्रविधि कक्ष छ । यहाँ बालबालिकालाई कम्प्यूटर सिक्ने व्यवस्था पनि मिलाइएको छ ।

टीकापुर सामुदायिक पुस्तकालय र सरोकार समूहले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने छ । ‘‘मङ्सिरदेखि अर्काे मङ्सिर महिनासम्मका लागि पहिलो चरणका लागि सम्झौता भएको छ’’, समूहका सचिव नवराज भट्टराईले भन्नुभयो, ‘‘पुरस्कार वितरणलाई कार्यविधि बनाएर कार्यान्वयन गर्छाैँ ।’’

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा र सरोकार समूह अध्यक्ष अर्यालले रकमको व्यवस्थाबारे आश्वस्त पार्नुभएको सचिव भट्टराइले बताउनुभयो । सम्झौँता हस्ताक्षर कार्यक्रममा पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले पठन संस्कृति पुनर्जागरण गर्न टीकापुर सरोकार समूहले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।

उहाँले आगामी दिनमा अन्य कार्यक्रममा पनि सरोकार समूहसँग सहकार्य गर्ने अवसर मिल्ने आशा प्रकट गर्नुभयो । पुरस्कारको व्यवस्थाले पाठकलाई प्रोत्साहन गर्ने जोशीको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.