क्रिकेटखेल

गृह जिल्लामा अलराउण्डर गुल्शनको अभिनन्दन

नेपाललाई एक दशकपछि टी-२० विश्वकप क्रिकेटमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई अभिनन्दन गरिएको छ ।

सोमबार गृह जिल्ला सर्लाहीमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले प्रोत्साहनस्वरुप सदरमुकाम मलङ्गवामा अभिनन्दन गरेको हो ।

पछिल्लो पटक भएका क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको सान बढाउन गरेको योगदानको कदर तथा थप हौसला प्रदान गर्न क्रिकेटर झालाई अभिनन्दन गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका गुल्सनको परिवार अहिले सदरमुकाम मलङ्गवा नगरपालिका–८, मा बसोवास गर्दैआएको छ ।

अध्यक्ष क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो लगायतले जिल्ला समन्वय समितिको सभाहलमा झालाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले सरकारले गर्नुपर्ने अभिनन्दनको काम नेपाल पत्रकार महासङ्घले गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले राष्ट्रको सम्पत्तिलाई सम्मान गर्ने कार्यमा पत्रकार महासङ्घले नेतृत्व गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

धमलाले पछिल्लो समय नेपाली क्रिकेटको गति उज्यालो गन्तव्यतर्फ अगाडि बढिरहेको बताउनुभयो । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले राज्यले नदेखेको विषयमा चौथो अङ्गको आँखा परेको बताउनुभयो ।

उहाँले सर्लाहीका गाउँ–गाउँमा गुल्सनजस्तै क्षमता भएका र सम्भावना बोकेका खेलाडी रहेको उल्लेख गर्दै ती खेलाडीलाई पनि अवसरको खाँचो रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले छठलगत्तै सदरमुकाम मलङ्गवामा गुल्सनलाई बृहत अभिनन्दन गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.