रास्वपाको आन्दोलन अदालतको अवहेलना : मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश आदेश
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले पार्टी सभापति पक्राउपछि गरेको आन्दोलन अदालतको गतिविधिबिरुद्ध भएको भन्दै सो पार्टीका नेताविरूद्ध अवहेलना सम्बन्धी निवेदन दर्ता गर्न आदेश दिइएको छ ।
मंगलबार न्यायाधीश विनोद शर्माको इजलासलेसो पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको उल्लेख भएको अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएपछि निवेदन दर्ता हुने भएको हो ।
सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको निवेदन अधिवक्ता अनुपम भट्टराईले यही कात्तिक २१ गते इजलासमा निवेदन पेस गर्नुभएको थियोे । सो निवेदनमाथि पहिलो सुनुवाइ गर्दै दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको हो ।
अदालतको अवहेलना निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख छ ।
निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोषिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतम लगायतलाई विपक्षी बनाइएको छ ।
निवेदनमा न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्