जल/वातावरण

‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई सम्बोधन गर्दै उहाँले तापक्रम वृद्धि रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

“नयाँ वित्तीय लक्ष्य निर्धारण गर्नुपर्छ, विकासशील देशहरूले बाकुबाट खाली हात फर्कनुहुँदैन,” उहाँले भन्नुभयो । विश्वको तापमान १ दशमलव ५ डिग्री सेल्सियस तापमान वृद्धिलाई सीमित गर्न पर्याप्त तयारी गर्न आवश्यक छ रहेको उहाँको भनाइ छ । जलवायुको भुक्तानी दिन आग्रह गर्दै महासचिव गुटेरेसले जलवायु–प्रेरित मानवीय विपद् रोक्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन समारोहमा अजरबैजनका राष्ट्रपति इल्हामले विश्वभरका करिब दुई सय मुलुकका प्रतिनिधिलाई स्वागत गर्दै सबैलाई जलवायुले निम्ताएका समस्या समाधान गर्न एकता कायम गर्न आग्रह गर्नुभयो । उहाँले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु सङ्कट तीव्र गतिमा अर्थतन्त्रलाई नष्ट गर्ने कारक बन्दै गरेको बताउनुभयो ।

उहाँले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै तरिकामा प्रभावित गरिरहेको बताउनुभयो । जलवायुजन्य समस्या समाधान गर्न सबैै एकजुट भएर लाग्नुपर्ने उहाँको जोड थियो ।

धेरै देशहरूमा जलवायु असरहरूले पाँच प्रतिशतसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) घटाइरहेको भन्दै सचिव स्टियलले जलवायु विपद्हरूले घरपरिवार र व्यवसायको खर्च बढाइरहेको बताउनुभयो ।

उहाँका अनुसार यदि हरेक देशले साहसिक रूपमा जलवायु न्यूनीकरणका लागि एक्सन लिन सकिएन भने जलवायुका असरले महँगीलाई थप बढाउने छ । “अब हामी महामारीबाट सिकौँ–जहाँ अर्बौंले सामूहिक रूपमा कदम चाल्न नसक्दा दुःख पाएका छौँ,” उहाँले भन्नुभयो ।

“जलवायुजन्य समस्या समाधानका हामी यहाँ बाकुमा छौँ, हामीले नयाँ जलवायुवित्त लक्ष्यमा सहमति गर्नै पर्छ । यदि कम्तीमा दुई तिहाइ राष्ट्रहरू छिटो उत्सर्जन कटौती गर्न सक्दैनन् भने, हरेक राष्ट्रले त्यसको मूल्य चुकाउनुपर्नेछ” ।

सचिव स्टियलले थप्नुभयो, “के तपाइँ आफ्नो खाद्यान्न र ऊर्जाको मूल्य अझ बढोस् भन्ने चाहनुहुन्छ ?, के तपाइँ आफ्नो देशलाई आर्थिकरूपमा अक्षम बनाउन चाहनुहुन्छ ? के तपाइँ विश्वव्यापी अस्थिरता अझै बढोस् भन्ने चाहनुहुन्छ, जसले अमूल्य जीवनलाई जोखिममा पार्छ ? यो सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै तरिकामा प्रभावित गरिरहेको छ । अब समाधानका लागि एक हुनुपर्छ ।”

स्टियललका अनुसार महत्वाकांक्षी नयाँ जलवायुवित्तको लक्ष्य हरेक राष्ट्रको अझै सबैभन्दा ठूलो र धनी राष्ट्रहरू समेतको हितमा छ । “जलवायु लक्ष्यमा सहमति मात्र पर्याप्त छैन । हामीले विश्व वित्तीय प्रणालीलाई पुनः परिमार्जन गर्न कोसिस गर्नुपर्छ ।

आवश्यक पर्ने राष्ट्रहरूलाई आवश्यक वित्तीय सहयोग दिनुपर्नेछ”, उहाँले भन्नुभयो, “यहीँ बाकुमा, हामीले अन्तर्राष्ट्रिय कार्बन बजार सञ्चालनमा ल्याउन, पेरिस सम्झौताको अनुच्छेद ६ लाई अन्तिमरूप दिनैपर्छ । हामीले पूर्वनिर्धारित लक्ष्यअनुसार अघि बढ्नैपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.