अर्थ

नेपालको सिमेन्ट, स्यानिटरी प्याड, जुत्ताचप्पल र प्लाइवुड निर्यातमा भारतको अबरोध

नेपाललाई एकलौटी बजार ठान्ने भारत नेपालको अति छिमेकी मात्र नभएर अति घनिष्ट सम्बन्ध रहेको दस्तावेजहरु छ्यापछ्याप्ती छन् । दुई देशबीको धार्मिक, सांस्कृति सम्बन्ध र खुला सीमाले यसलाई पुष्टि गर्दछ ।

तर, कागजमा र जनस्तरमा देखिएका घनिष्ट सम्बन्ध आर्थिक राजनीतिक रुपमा छैन । भारत जहिल्यै नेपाललाई एकलौटी बजारका रुपमा मात्र उपयोग गरिरहने र नेपालका उत्पादनहरुलाई कुनै न कुनै बहानामा भारतीय बजारमा अबरोध गरिरहन्छ ।

पछिल्लो समय नेपाली सिमेन्ट, स्यानिटरी प्याड, जुत्ताचप्पल र प्लाइवुड लगायतका वस्तुको आयातमा भारतले अनौपचारिक अवरोध उत्पन्न गरेको उद्योगीहरूले गुनासो गरिरहेका छन् ।

उद्योगीका अनुसार भारतीय बजारमा निर्यातका लागि आवश्यक एक प्रकारको गुणस्तर प्रमाणपत्र त्यहाँको सम्बन्धित निकायले जारी वा नवीकरण नगर्दा नेपाली उत्पादनहरू निर्यात हुन सकिरहेका छैनन्।

निर्यातमा समस्या देखिएपछि बेला सरकारी अधिकारीहरूले त्यसको अन्त्यका लागि कूटनीतिक पहल थालिएको बताउँदै आफूहरूसँगको कुराकानीमा भारतीय पक्षले त्यस्तो सङ्केत नगरेको बताएका छन् ।

नेपाली निर्यातकर्ता तथा वाणिज्य अधिकारीहरूका अनुसार भारतमा निर्यात हुने कतिपय वस्तुका लागि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस)ले जारी गरेको प्रमाणपत्र आवश्यक पर्छ।

सिमेन्ट उद्योगी पशुपति मुरारकाले सिमेन्ट र छडका लागि पहिलेदेखि नै प्रमाणपत्र अनिवार्य थियो। अहिले फुटवेअर, प्लाइवुड र स्यानिटरी प्याडका लागि पनि अनिवार्य गरिएको बताउनुभयो ।

उहाँका अनुसार आफूहरुले पहिले नै लिएको भए पनि बीआईएसको म्याद हुन्छ र त्यो सकिएपछि नवीकरण गर्नुपर्छ। अहिले हाम्रो पनि नवीकरण भएको छैन। नयाँ उत्पादनहरूको चाहिँ दर्ता र प्रमाणीकरण नै हुन सकेको छैन।

नेपाली निर्यतकर्तामध्ये कसैले प्रमाणपत्र नवीकरण नहुँदा र कसैले दर्ता प्रक्रिया पूरा नहुँदा समस्या भोगिरहेको मुरारकाले बताउनुभयो ।

त्यस्तै नेपाल स्यानिटरी तथा डाइपर उत्पादक सङ्घका अध्यक्ष डोलराज अधिकारीले भारतले तोकेको मापदण्डअनुसार बीआईएसमा आवेदन दिँदा पनि अनुमति पाउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, निवेदन दिएर सबै प्रक्रिया पूरा गरेपछि उनीहरूले आएर उद्योगको अनुगमन गरेर मापदण्ड अनुसार उत्पादन भएको प्रमाणीकरण गर्नुपर्ने रहेछ तर त्यो हुन नसक्दा समस्या भएको छ ।

त्यसो त सरकारी अधिकारीहरू पनि नेपालबाट भारतमा निर्यात हुने वस्तु उत्पादकहरूले त्यस्तै गुनासो गरिरहेको बताउँदै सिमेन्ट र स्यानिटरी प्याडमा जस्तै समस्या जुत्ताचप्पल र प्लाइवुड उद्योगमा पनि देखा परेको जानकारी दिएका छन् ।

भारतले प्रत्यक्ष रूपमा अवरोध नगरी अप्रत्यक्ष र अनौपचारिक रूपमा नेपाली उत्पादन निर्यातलाई अवरोध गर्न खोजेको छ। घोषित नीति एकथरि र व्यवहार अर्कोथरि गर्दै नेपाली उत्पादन रोक्ने भारतको पहिलेदेखिकै नीति नै हो ।

भारतको यस्तो नीतिलाई जानकार भनिनेहरुले भारतले आफ्ना छिमेकी मुलुकहरूबाट आयात हुने वस्तुमा चिनियाँ सामग्री प्रयोग भएको नहोस् भन्ने सुनिश्चित गर्न यस्तो गरेको बताउने गरेका छन् ।

औद्योगिक उत्पादन मात्र होइन, भारतले नेपालमा चिनियाँ लगानी भएको जलविद्युत् आयोजनाबाट बिजुली पनि नलिने नीति लिँदै आएको छ।

अर्कोतिर भारतको पछिल्लो कदम गत वर्ष फागुनमा नेपालमा विदेशबाट दूधजन्य वस्तुहरूको आयातमा नेपालले लगाएको प्रतिबन्धको प्रतिक्रियास्वरूप भारतले यस्तो अनौपचारिक अवरोध उत्पन्न गरेको हुनसक्ने कतिपयको आँकलन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.