नेपाला नेपाल आगामी वर्ष हुने मलेसियामा आईसीसी यू १९ महिला टी २० विश्वकपमा पहिलोपटक छनोट भएको छ । युएईमा सम्पन्न छनोट खेल अन्तर्गत बुधबारको अन्तिम खेलमा नेपालले युएईलाई ठूलो अन्तरमा पराजित गर्दै छनोट भएको हो ।
नेपालका लागि निश्चित रन र ओभरमा हराए मात्र विश्वकपमा छनोट हुने खेलमा नेपालले युएईलाई आवश्यक रनमा समेट्दै आवश्यक ओभरभित्रै विजयी हुँदै सनसनीपूर्ण रुपमा विश्वकपमा छनोट हुन सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
युुएईले दिएको ८४ रनको लक्ष्य नेपालले नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।
यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जितसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको यूएई लाई हराएर रनरेटमा पछि पार्नु आवश्यक थियो ।
नेपाली खेलाडीहरुले आज लक्ष्यअनुसारको खेल प्रदर्शन गर्दै सनसनीपूर्ण रुपमा विश्वकपमा छनोट भए । पाँच खेलमा बराबर अंक तालिका रहे पनि नेपाल रनरेटमा माथी रहँदै विश्वकपमा छनोट भएको हो ।
प्रतिक्रिया राख्नुहोस्