कोरोना संक्रमण हुनेलाई मात्र थाहा हुन्छ वास्तविकता…
गीता श्रेष्ठ
कोरोना भाइरको विश्वव्यापी महामारीको शिकार भएका अनगिन्तीहरुको अनुभव सामाजिक संजाल तथा संचार माध्यममा सुन्दा अनि संक्रमण नभएका र विज्ञता पनि नभएकाहरुको तर्क–कुतर्क सुनेर आफूले पनि एउटा दष्टिकोण बनाउँदै गर्दा आफ्नै परिवारभित्र त्यो समस्या आएपछि यी तमाम कुराहरु कति हावादारी रहेछ भन्ने छर्लङ्ग भयो । जब यसले मानिसको शरीरमा प्रवेश गर्छ तब उत्पन्न हुने जटिलताले यसको वास्तविकता सामुन्ने आयो ।
“कोरोना केही होइन वा कोरोना डरलाग्दो हो’ भन्ने द्वन्द्वकाबीच मेरो परिवारका दुईजना सदस्य संक्रमित भएको जानकारीमा आएपछि अनि म स्वयं ज्वरो र खोकीले थलिएको तथा परिवारका अन्य सदस्यको स्वास्थ्यमा पनि सामान्य समस्या देखिएपछि जस्तो मानसिकता उत्पन्न भयो त्यसले अब सिंगो परिवार नै उच्च जोखिममा रहेको चिन्ताले अरु गलाउँदै गयो । विकल्प केही थिएन, तर आफन्त तथा शुभचिन्तकहरुको सहानुभूति र आत्मविश्वास बढाउने सल्लाह नै मेरो परिवार सुरक्षित राख्ने आधार बन्यो ।
परिवारका दुईजना अभिभावक (मेरा श्रीमान र देवर) मा कोरोना पोजेटिभ देखिएपछि परिवारमा जुन मानसिक तनाव उत्पन्न भयो त्यो जीवनको सबैभन्दा कठिन र जटिल समय रह्यो । हाम्रो अहोशौभाग्य “पोजेटिभ” देखिए पनि उहाँहरुमा कोरोना संक्रमणको लक्षण देखिएन । उहाँहरु दुबैजना मेडिकल व्यवसायमा संलग्न भएका कारण चिकित्सकहरुको उचित परामर्शले हाम्रो परिवार सुरक्षित रह्यो । संक्रमण र बिमारीको अवधिमा बुुहारी सिर्जनाले देखाएको संयम र आत्मविश्वास हामीलाई ठूलो आधार बन्यो ।
जब परिवारका दुईजनामा पोजेपटि भयो तब बाँकी हामी चारजना सुरक्षित थियौं भन्ने ग्यारेन्टी थिएन, तर आत्मबल बढाउनुको विकल्प पनि थिएन । ज्यक्तिगत सम्पर्कका कारण वरिष्ठ चिकित्सकहरुको परामर्श समयमै पाउन सम्भव भयो । उहाँहरुको उचित परामर्श र त्यो परामर्शको अक्षरशः पालनाकै कारण आज म यो स्मरण सार्वजनिक गर्न सक्षम रहेको छु ।
एउटा कुरा पक्कै पनि हो कि कोरोना पोजेटिभ हुँदैमा सबै कुरा समाप्त हुँदैन तर पोजेटिभ देखिएपछि पालना गर्नुपर्ने नियम र गर्नुपर्ने स्याहारमा ध्यान दिन सकिएन भने यो कति भयावह हुन्छ भन्ने मैले मेरै छरछिमेकमा देखेको छु । संचार माध्यमहरुमा पनि यस्ता विवरणहरु आएकै छन् । बुझ्नैपर्ने कुरा पोजेटिभ र संक्रमणको अन्तर हो ।
जब आफूलाई पर्दैन तबसम्म कोरोना मात्र हैन कुनै पनि समस्यालाई हल्का रुपमा लिने हाम्रो बानी नै हो । जबसम्म केही हुँदैन तबसम्म केही नमान्ने र नठान्ने प्रवृत्तिलाई हामीले त्याग्नैपर्छ । कोरोना संक्रमणबाट बच्न र पोजेटिभ भएमा सामान्य नियममा बस्ने हो भने हामी सुरक्षित रहन्छौं । पोजेटिभ हुँदैमा आत्तिनु पर्दैन, पोजेटिभ देखिनासाथ तातो न्यानो बस्ने, पोषिलो खाने कुरा खाएर बस्दा यसले कुनै असर देखाउन पाउँदैन । अनि अरुलाई संक्रमित हुन नदिन एकान्तबास गरेर धैर्यतापूर्वक आत्मबल बढाएर बस्नु नै यसबाट संक्रमित भएर थप दुःख नपाउने उपाय हो ।
कोरोना भाइरस पोजेटिभ देखिएपछि त्यसले कुनै लक्षण नदेखाउँदा समेत मेरो परिवारमा जुन सकस पैदा भयो, जुन मानसिक यातना भोग्नुप¥यो, लक्षणसहित अस्पतालमै बस्नुपर्नेलाई कस्तो भयो होला ? यसको यात्रा तय गरेकाहरुलाई मात्र थाहा हुन्छ त्यो भोगाई । एकातिर शारीरिक कमजोरी, अर्कोतिर सामाजिक दुव्र्यवहार अनि शुभचिन्तक देखिन खोज्नेहरुको दशथरि सल्लाह ! यसबीचमा के गर्ने र कसो गर्नेको द्विविधामै समय बित्दो रहेछ ।
म स्वयं एक महिना जस्तो उठ्नै नसक्ने गरी बिरामी परेको, श्रीमान र देवरमा एक हप्ताको अन्तरमा कोरोना पोजेटिभ देखिएपछि हामीले नेपालका कथित विद्वान र विश्लेषकहरुको हैन तथ्यमा टेकेर तर्क गर्ने साथीभाइ, विश्व स्वास्थ्य संगठन र सरुवारोग विज्ञहरुको परामर्शलाई मात्रै ग्रहण ग¥यौं । उहाँहरुको ढडास नै हाम्रो औषधि बन्यो । म स्वयंममा कोरोना पोजेटिभ थियो कि थिएन वा मेरो बिमारीको कारण कोरोना हो कि हैन भन्न सक्दिन तर मेरो श्रीमान र देवरमा कोरोना पोजेटिभ भएपछि हामीले अपनाएको उपाय भनेको तागतिलो खानेकुरा पटकपटक खाने, तातोपानी, गुर्जो, बेसार, मरिच खाने । शौभाग्य उहाँहरु १४ दिनको घरकै आइसोलेसनपछि संक्रमणमुक्त हुनुभयो । हामी परिवारका अन्य सदस्यलाई त्यस्तो समस्या केही आएन ।
मेरो यो अनुभव आम जनतालाई एउटा पाठ हुनसक्छ भनेर लेखेकी हुँ । हामी होम आइसोलेसनमै हुँदा कोरोनाकै कारण टोलमा दुईजनाको मृत्यु भैसकेको थियो । यसले हामीलाई अरु त्रस्त बनाए पनि आत्मबल बलियो बनाउनुका विकल्प थिएन र हामी सिंगो परिवार स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर अघि बढ्यौं, तब हामी सबै स्वस्थ रहन सक्यौं । यदि कोरोना पोजेटिभपछि सानो थोरै मात्र लापरवाही वा गल्ती गरियो भने यसले संक्रमित तुल्याउँदै लक्षण देखाउन थाल्छ । अनि त्यसपछिको अवस्था कल्पना गर्न सकिन्न ।
जसले भोगेको छ त्यसले दिएको सल्लाह नै कोरोना संक्रमणबाट बच्ने र पोजेटिभ देखिए पनि सुरक्षित रहने अचूक वाण हो । पोजेटिभ मात्र भएका र संक्रमित भएर बिरामी परेकाहरुले बोलेका कुरालाई ध्यान दिने हो भने के निष्कर्ष निकाल्न सकिन्छ भने कोरोनाका बारेमा मच्चाइएको भ्रम र यसको यथार्थता यसबाट पीडित हुनेलाई मात्र थाहा हुन्छ र यो ख्यालख्याल हैन ।
अन्त्यमा दीपावलीको शुभकामना सहित यो वर्षका चाडपर्व आफू सुरक्षित रहेर आफन्तलाई पनि सुरक्षित राख्दै सचेत र शतर्क रहन सम्पूर्णमा अनुरोध गर्दछु ।
(लेखक श्रेष्ठ उर्सा मेजर चिल्डेन्स एकेडेमी खुसिंबुका संचालक सदस्य हुनुहुन्छ)
प्रतिक्रिया राख्नुहोस्