आम निर्वाचन २०७९

कर्णालीको विकटतालाई सुगम बनाउनुछ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताउनुभएको छ ।

एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उहाँले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

“सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उहाँले भन्नुभयो, “यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।” अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताउनुभयो ।

“हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ ।”

अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताउनुभयो ।“ यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ”, उहाँले भन्नुभयो ।

यसै गरी सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागिमात्रै निर्वाचन नभएको बताउनुभयो ।

मङ्सिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उहाँले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको र त्यो शक्ति एमाले भएको बताउनुभयो ।

उहाँले सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको भन्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा बोकेको पार्टीलाई जनताको ठूलो साथ रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.