विद्या भट्टराई— बहुआयामिक विकासको नेतृत्वकर्ता
विद्या भट्टराई (अधिकारी)लाई एउटा अकल्पनीय र पीडादायी परिस्थितिले राजनीतिमा पुनः होम्यो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापनरत रहँदैका बखत उहाँका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी असामयिक निधन भएपछि उहाँलाई राजनीतिमा होमिनुपर्यो ।
पति राजनीतिकर्ममा, आफू शिक्षण कर्ममा लागेर घरव्यवहारलाई एकनास अघि बढाइरहँदा २०७५ फागुन १४ गते अकल्पनीय दुर्घटनाले विद्यालाई आफ्ना पतिको विरासत धान्ने जिम्मेवारी नेकपा एमालेले दियो । उहाँले शोकलाई शक्तिमा बदल्दै आफ्ना पतिको विकासप्रेम र समृद्ध नेपालको अवधारणालाई आत्मसात गर्ने र अघि बढाउने दृढ संकल्प लिनुभयो ।
आफ्ना पति अधिकारी तीनपटकसम्म माननीय हुँदा उहाँले अवाञ्छित लाभ लिने चाहना नै गर्नुभएन । स्व. अधिकारी कास्कीबाट तीनपटक निर्वाचित हुँदै संविधानसभा, व्यवस्थापिका संसद र संसदीय समितिमा रहेर महत्वपूर्ण भूमिका मात्र निर्वाह गरी सर्वोत्कृष्ट सांसदको उपाधी पाउँदा पनि उहाँ राजनीतिक लाभका लागि कुनै लोभ देखाउनुभएन ।
चाहेको भए विद्याले आफ्नाा पति शक्तिमा रहँदा आफूलाई उच्च ओहदामा स्थापित गराउन कुनै गाह्रो थिएन र उहाँमा जुनसुकै क्षेत्रमा प्रवेश गर्ने योग्यता थियो । तर उहाँले त्यस्तो प्रयास गर्नुभएन । आफ्नो कर्ममा निरन्तर सक्रिय भैरहनुभयो । भट्टराईको यही शालिनता र राजनीतिबाट लाभ लिन हुँदैन भन्ने मान्यताकै नतिजा उहाँ २०७६ मा भएको कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा भारी बहुमतले विजयी हुनुभयो ।
भट्टराईको विजय कास्केली जनताको विकासप्रतिको भोकको परिणाम थियो । आफ्ना पृय नेता अधिकारीको निधनपछि आम जनताले विद्यामा रवीन्द्रको छायाँ देखे त्यो पदचाप पछ्याउने योग्यता र क्षमता देखे । अहिले पनि उहाँ सोही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेद्वारी केवल कास्की क्षेत्र नं. २ को भौतिक विकासका लागि मात्र हैन सिंगो देश विकासका लागि एउटा योग्य र क्षमतावान विधायकका रुपमा स्थापित गर्नु मुलुकको समग्र हितमा समर्पित पात्रको चयन पनि हो ।
सानैदेखि राजनीतिमा होमिए पनि विवाह पश्चात् अध्यापनमा सक्रिय विद्या भट्टराईको अबको जीवन राजनीतिज्ञकै रुपमा नै हुने र एउटा केन्द्रीय जनप्रतिनिधिका रुपमा उहाँले आफूलाई अब्बल स्थानमा राख्न सफल हुने आधारहरु प्रशस्तै छन् । सांसद भएको विगतको छोटो अवधिलाई मूल्यांकन गर्दा आगामी पाँच वर्षमा उहाँमा रहेको राजनीतिक चेत र समाजशास्त्रीय ज्ञानको भरपूर उपयोग हुनेछ ।
जसरी स्व. रवीन्द्र अधिकारी विकासलाई एक रुपमा हैन अनेक रुपमा हेर्नुपर्छ र आवश्यकता अनुसारको मात्र हुनुपर्छ भन्दै नेताले लादेको विकासले जनतामा समृद्धि आउँदैन भन्नुहुन्थ्यो सोही मार्गमा भट्टराई हिंड्नुभएको छ । उपनिर्वाचनमा उहाँले सानदार जित दर्ता गर्दै स्व. अधिकारीले अघिसारेका योजना र आफ्नै दृष्टिकोण अनुसारका विकासका कामहरु सम्पन्न गर्दै जनतामाझ थप चर्चित हुनुभयो ।
राजनीतिक आस्था र दलीय आवद्धताका हिसाबले एकले अर्काको बिरोध गर्न सक्छन् । अझ गुटबन्दीका कारण एउटै दलभित्र पनि बिरोधीहरु हुन्छन् । नेपालको राजनीतिमा दलभित्र स्वस्थ प्रतिस्पर्धाको साटो उछित्तो काढ्ने प्रवृत्तिकाबीच विद्या कास्कीको उदयीमान नेतृका रुपमा स्थापित हुनुभएको छ । विकासलाई समृद्धि र सम्पदा अनि संस्कृति संरक्षणसंग जोडेर लैजानुपर्छ भन्ने मान्यता राख्ने भट्टराईले सामाजिक सुरक्षाविनाको विकास र उत्पादन विनाको पूर्वाधार खडा गरेर मात्रै विकास मान्न सकिंदैन, बनेका पूर्वाधारले जनतामा समृद्धि ल्याउनुपर्छ र त्यसका लागि उत्पादन र बजार बढाउने योजना संगै लिएर जानुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।
समाजशास्त्री भएकाले पनि होला उहाँमा विकासको अलग्गै सोच र दृष्टिकोण छ । विकासको नाममा समाजमा विकृति भित्रिनु हुँदैन भन्ने दृढता राख्नुहुने भट्टराई वृद्धवृद्धाका लागि भजनकीर्तिन गर्ने स्थानदेखि बालबालिकाका लागि पार्क र युवाहरुका लागि खेलमैदान अपरिहार्य पक्ष मान्दै सोही कार्यमा अग्रसर हुनुहुन्छ ।
विकास भनेको बालककाल, स्वच्छन्द हुनुपर्छ, युवावस्था उर्जाशील हुनुपर्छ र बुढेसकाल तनावरहित हुनुपर्छ भन्ने हो । त्यसका लागि सामाजिक सुरक्षा र आधारभूत आवश्यकताका पूर्वाधारहरु चाहिन्छन् । यी सब नेपालको विकासको अभ्यासमा गलत ठानिए पनि दिगो विकासका लागि असल र सक्षम जनशक्ति निर्माण गर्न एउटा बालकले पाउनुपर्ने नैसर्गिक अधिकारलाई स्थापित गर्दै उसको युवावस्था उर्जाशील बनाउने र वृद्धअवस्था सुरक्षित र तनावरहित बनाउनुपर्दछ ।
यसका लागि यिनै विषयहरु बुझेको, जानेको, अभ्यास गरेको नेतृत्व चाहिन्छ । जुन नेतृत्व विद्यामा छ । राष्ट्रिय नीति निर्माणमा उहाँले करीब ३ वर्ष सांसदका रुपमा निर्वाह गर्नुभएको भूमिका र क्षेत्रीय विकासमा दिनुभएको योगदान प्रशंसनीय छ । विकास निर्माणका नाममा आएका बजेट अपचलन गर्ने प्रवृत्तिको घोर बिरोध गर्दै आफ्नो क्षेत्रमा आएको बजेटको हरेक वर्ष लेखा परीक्षण गराई सार्वजनिक गर्ने आफ्ना पति स्व. रवीन्द्र अधिकारीको पदचिन्ह पछ्याउँदै उहाँले पारदर्शिताको नमूना पेश गर्नुभएको छ ।
विकास गरीब जनताले छाक टारेर तिरेको करबाट सुकिला—मुकिला मात्रै सुखी हुने गलत अभ्यासको घोर बिरोधी विद्या समाज विकासको आधारशिला गुणस्तरीय र सुलभ शिक्षा र स्वास्थ्यसेवा तथा हिंसारहित समाज निर्माणलाई मान्नुहुन्छ । उहाँले संसदमा आफ्ना निर्वाचन क्षेत्रका समस्यादेखि सिंगो देशका जल्दाबल्दा समस्याहरुको समाधानका लागि बन्नु पर्ने नीति र कानुन निर्माणका विषयहरु अति गहन छन् । उहाँका तर्कहरु दीगो विकासमा लक्षित छन् ।
परिस्थितिले शिक्षाणबाट राजनीतिक भूमिका स्थापित हुनुभएकी भट्टराई आफ्ना पतिको विरासतका रुपमा मात्र राजनीतिमा होमिनुभएको हैन कि एक योग्य, सक्षम, शिक्षित, सचेत र लामो राजनीतिक पृष्ठभूमि भएका कारण उहाँमा विषयगत ज्ञान र राजनीतिक चेतना उत्तिकै छ । कास्की क्षेत्र नं. २ लाई मात्र हैन सिंगो देशलाई पनि उहाँको आवश्यकता रहेकाले संसदमा पुर्याउनु आम नेपालीको हितको विषय हो ।
कास्की, अझ पोखरा नगरक्षेत्र विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य हो । यहाँ प्रकृतिले दिएको अपार स्रोत छन् । यी स्रोतहरुको संरक्षण गर्दै आवश्यक मात्रामा भौतिक पूर्वाधारहरुको विकास गरी पर्यटनलाई यहाँको मात्र हैन देशकै आयस्रोतको प्रमुख हिस्सा बनाउने योजना स्व. रवीन्द्र अधिकारीको थियो र त्यो योजना कार्यान्वयनका लागि विद्याको संसदमा उपस्थिति अनिवार्य बनेको छ ।
विकासका आयामहरुलाई केलाउँदै के आवश्यक र के अनावश्यक अनि कुन दिगो र कुन अल्पकालीन भन्ने छुट्याएर आफैं योजना तर्जुमा गर्नसक्ने क्षमता बोकेका नेताहरुबाट मात्रै देशले समृद्धिको मार्ग तय गर्दछ, त्यस्तै नेतामा एक हुनुहुन्छ कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराई ।
प्रतिक्रिया राख्नुहोस्