अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्न शिक्षामन्त्री भट्टराईको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटटराईले शैक्षिक विषयका अनुसन्धानलाई वास्तविक बनाएर प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति ठोस कार्ययोवजना बनाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
बिहिबार शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराइले अनुसन्धानलाई वास्तविक बनाएर उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्न सुझाव पनि दिनुभयो।
सानोठिमीस्थित शिक्षा मन्त्रालयसंग सम्बन्धित विभिन्न कार्यालयहरूको आकस्मिक निरीक्षणका क्रममा उहाँले कार्यालय प्रमुखहरुलाई सो निर्देशन दिनुभएको हो ।
बिहिबार विहान विशेष शिक्षा परिषद बैठकको अध्यक्षता गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुग्नुभएकी मन्त्री भट्टराईले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गर्नुभएको थियो।
निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेश गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन निर्देशन दिनुभयो ।
सो अवसरमा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिनुभएको थियो ।
निरीक्षणपछि उहाँले पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उपयोगी पुस्तक थप गरी पुराना महत्त्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्गले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने वताउनुभयो ।
त्यस क्रममा उहाँले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रव्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुर्याई विशेषतः कक्षा १० र १२ को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराउनुभयो ।
निरीक्षणका क्रममा मन्त्री भट्टराईले प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि ब्यक्त गर्दै जनसेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्यालय निरीक्षणका क्रममा केही कर्मचारी समयमा कार्यकक्षमा अनुपस्थित भएको र सोबारेमा पनि मन्त्री भट्टराइले चासो राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्