राजनीति

नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा मङ्सिरभित्र काम सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिनुभएको छ ।

उक्त सडक खण्ड २०७५ चैत ८ गते चाइना स्टेट कम्पनीसँग २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सो सडक खण्डको  ४४ प्रतिशत भुक्तानी भइसकेको र काम ५२ प्रतिशत भएको बताइएको छ ।

बिहिबार प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित निकायसंगको छलफलमा उहाँले काम भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउँदै सो चेतावनी दिनुभएको हो ।

सो छलफलमा अर्थमन्त्री, मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सांसद, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

छलफलमाा प्रधानमन्त्री ओलीले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै काम गर्ने जिम्मा लिएर आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ भन्नुभयो ।

“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ” ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।”

नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराउनुभयो ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.