राजनीति

कृषि र श्रम संस्कृतिको सम्मान गर्ने शिक्षामा मन्त्री भट्टराईको जोड

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिई किसान र श्रमलाई स‌म्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्री भट्टराईले शनिबार जापान अन्तर्राष्ट्रिय सहयाग नियोग (जाइका) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सञ्चालित स्ट्रेन्थेन एग्रिकल्चर एजुकेसन इन सेकेन्डरी स्कुल इन नेपालले काठमाडौंमा आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्‌कन बैठकमा सो कुरा बताउनु भएको हो ।

त्यस क्रममा मन्त्री भट्टराईले शिक्षाको मूल उद्देश्य मिहिनेत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउन निरन्तरता दिनु, सिकाइको प्रयोग गर्न, सिकाइ र यसको प्रयोगका लागि उत्प्रेरणा बढाउनु, समूहमा काम गर्न र श्रमलाई साम्मान गर्नु रहेको पनि बताउनुभयो ।

नेपालमा ६७ प्रतिशत जनता कृषिमा आश्रित रहेको, राष्ट्रिय आयमा कृषिको २४ प्रतिशत हिस्सा रहेको र २०५ विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवर्धनका लागि भएका कार्यको प्रशंसनिय भएको मन्त्री भट्टराईको भनाइ थियो ।

उहाँले विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न र खेतबारीलाई कृषिको प्रयोगशाला बनाई कृषिकर्मी र श्रमलाई सम्मान गर्न आह्‌वान गर्नुभयो ।

समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपुरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले साना काम‌बाट ठूलो उन्नति गर्ने जापान र सबै विद्यार्थी सबै क्षेत्रमा सफल हुनुपर्ने भन्ने प्रधानमन्त्री के पी शर्मा ओलिको विचारको चर्चा गर्दै विद्यार्थीलाई सिक्नका लागि उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रोजेक्टबेस र होम बेस प्रोजेक्ट मार्फत कृषिको आधुनिकीकरण हुनसक्ने भएकाले विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.