शिक्षा, सामाजिक विकास र महिला अभिप्रेरणामा विद्या
नेपालको संविधान २०७२ ले राज्यका हरेक तहमा समानुपातिक र समावेशी प्रतिनिधित् सुनिश्चित गर्न विभिन्न वर्ग, समुदाय र क्षेत्रका लागि आरक्षणको व्यवस्था गरेको छ । संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ तापनि यसको पालना हुन सकेको छैन । अझ राष्ट्रिय राजनीतिमा महिलाको सहभागिता उल्लेखनीय र सक्रियतापूर्वक हुन सकेको छैन । महिला सहभागितालाई मान्य दिलाउन प्रमुख पदमा उनीहरुको न्यून उपस्थिति रहने गरेको छ ।
नेपालको पछिल्लो जनसंख्यालाई विश्लेषण गर्दा राष्ट्रिय राजनीतिमा महिलाको सहभागीता ५० प्रतिशतभन्दा माथि हुनुपर्ने हो । तर, विद्यमान अवस्था त्यस्तो छैन । बाध्यात्मक रुपमा कानुनी रुपमा पालना गर्नुपर्ने भएकाले महिलालाई ३३ प्रतिशतमा जवरजस्ती सहभागी गराइएको छ । त्यसमा पनि शिक्षित महिलाको संख्या त अत्यन्त न्यून रहेको छ ।
हुन त यसका पछाडि शिक्षित र पढेलेखेका महिलाको संख्या नै कम भएकाले पनि हो । तर, यसको सुरुवात भने भैसकेको छ । पछिल्लो समयमा शिक्षित महिला न्यून संख्यामै भए पनि राष्ट्रिय राजनीतिमा देखिएका छन् । यसलाई सकारात्मक संकेतको रुपमा लिनुपर्ने हुन्छ । यही मेसोमा अहिले नेकपा एमालेकी महिला नेतृ विद्या भट्टराई अधिकारीलाई हेर्नुपर्ने हुन्छ ।
विद्या भट्टराई राजनीतिक नेतृत्वको हुनुहुन्छ नै, त्यो भन्दा पनि उहाँको परिचय शैक्षिक व्यक्तित्वको रुपमा रहेको छ । उहाँले लामो समय समाजशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभयो । समाजशास्त्र आफैंमा शिक्षा, समाज विज्ञान, लैङ्गिक सवाल, विकास, र व्यवस्थापन जस्ता विषयवस्तुहरुसंग अन्तर सम्बन्धित विषय हो ।
उहाँ प्राध्यापन पेशामा रहँदा जसरी शिक्षा, सामाजिक विकास र महिला अभिप्रेरणामा ज्ञान र सीप प्रदान गरेर आम विद्यार्थीहरुमा एक प्रकारको चेतना भर्ने काममा योगदान गर्नुभयो अहिले उहाँ राजनीतिमा आउँदा उक्त ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न खास टेवा पुग्ने अपेक्षा गरिएको छ । त्यस अर्थमा विद्या भट्टराई जस्ता व्यक्तित्वहरु राष्ट्रिय राजनीतिमा आएको विषयलाई सबैले स्वागत गरेका छन् र गर्नुपर्दछ ।
विद्या भट्टराईजस्तो बौद्धिक व्यक्तित्व सक्रिय रुपमा राष्ट्रिय राजनीतिमा आउनु एउटा संयोग पनि हो । उहाँलाई बाध्यता र आवश्यकताले राजनीतिक मैदानमा ल्याएको हो । नेपाली राजनीतिमा उदियमान युवा नेता स्व. रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी असामयिन निधन भएपछि कास्की पोखराका आमजनताको माग र नेकपा एमालेले विद्यामान राष्ट्रिय आवश्यकतालाई महशुस गरी विद्या भट्टराईलाई दीगो हिसावमा राजनीतिमा उतार्ने निर्णय गरेपछि उहाँ सक्रिय राजनीतिमा आउनु भएको हो । त्यसपछि लगत्तै भएको कास्की निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा उहाँ एमालेको तर्फबाट उम्मेवार बन्नुभयो र निर्वाचित भई छोटो अवधिमै प्रतिनिधिसभामा आफ्नो बौद्धिक प्रखरता प्रस्तुत गर्नुभयो । उहाँ अहिले नेपालको राष्ट्रिय राजनीतिमा औंलामा गन्न सकिने थोरै महिला नेतृहरुमध्ये एकमा स्थापित भैसक्नु भएको छ ।
हामीले शिक्षालाई ज्ञान र सीप प्रवाह गर्ने निरन्तर प्रक्रियाको रुपमा लिने गर्दछाैँ । त्यही सिकेको ज्ञान र सीपलाई व्यवहारमा कार्यान्वयन गर्ने क्षेत्र हो राजनीति । निश्चित रुपमा नेपाली समाजलाई ठीक ढंगले बुझ्ने सवालमा नेतृ विद्या भट्टराईको क्षीतिज निकै व्यापक रहेको छ । उहाँले नेपाली समाजको विशेषता र समस्याहरुलाई केस्राकेस्रामा गएर केलाउनु भएको छ र त्यसलाई विश्लेषण पनि गर्नु भएको छ ।
जहाँसम्म समस्यालाई पहिचान गरी समाधान गर्ने सवाल हो, त्यसमा पनि नेतृ विद्याले आफ्नै प्रकारको मुद्दा र एजेण्डा तयार गर्नुभएको छ । जसलाई कार्यान्वयन गर्ने उहाँमा एक प्रकारको गतिशीलता र उर्जा छ । केही गरौं भन्ने हुटहुटी भएको व्यक्तित्व, जसमा समस्यालाई पहिचान गर्ने र केलाउने क्षमता हुन्छ उसमा इमान्दारिता भयो भने त्यसले अवश्य पनि सफलता हासित गर्न सक्दछ । त्यो क्षमता, ज्ञान, इमान र शिक्षित व्यक्तिको पूर्ण मिश्रण हुुनुहुन्छ विद्या ।
यतिबेला राजनीतिमा क्षमता र इमान भएका योग्यहरुको अभाव भयो भन्दै स्वतन्त्र रुपमा विभिन्न पेशा, व्यवसाय र विषयगत विज्ञता हाँसिल गरेकाहरु स्वतन्त्र रुपमा उम्मेदवारी दिइरहेका छन् । स्थापित राजनीतिक दलका शीर्ष तहका नेताहरुको चर्को बिरोध भैरहेको छ । राजनीतिक दलले पार्टीभित्रका सक्षम, इमान्दार र शिक्षित नेताहरुलाई मौका नदिएको भन्दै आलोचना पनि भैरहेको छ ।
यो सन्दर्भमा विद्या जस्ती शिक्षित, सक्षम, योग्य र इमानदार नेताको उम्मेदवारी राजनीतिमा पुस्तान्तरणको सुरुवातका रुपमा लिन लिनुपर्छ । मुलुक रुपान्तरणको सुरुवातका रुपमा लिंदै असल, क्षमतावान, शिषित जनप्रतिनिधि चयन गर्ने अभिलाषा राख्ने आम मतदाताले दलीय आबद्धता हेरेर हैन कि उसको गुण—दोष केलाएर दल नहेरी मतदान गर्नसक्नुपर्छ ।
यदि राजनीतिकरणको शिकार र भ्रममै बसेर योग्यहरु राजनीतिमा आएनन् मात्र भनिरहने हो भने हुनेवाला केही छैन, हैन, मतदाताहरु पनि परिवर्तित भएर विवेक पुर्याउने हो भने विद्या जस्तै अरु धेरै नेताहरु संसदमा पुग्नेछन्, जसले मुलुक रुपान्तरणका लागि ठूलो सघाउ पुग्नेछ ।
यस हिसाबले हेर्दा समग्र राज्यले नै गर्व गर्न योग्य एक महिला नेतृत्व आज कास्कीले पाएको छ । यो कास्कीको लागि पनि अवसरको विषय हो । कास्कीका जनताले यो पक्षको गाम्भिर्यतालाई ठीक ढंगले बुझेका छन् र आत्मसात गरेका पनि छन् । कास्की आफैंमा भौतिक पूर्वाधार, शिक्षा, चेतना, महिला सशक्तिकरण र सामाजिक विकासको सवालमा अग्रगामी जिल्ला पनि हो ।
यस्तो जिल्लालाई आधारभूमि बनाएर अगाडि बढेकी नेतृ भट्टराईबाट आगामी दिनमा सिंगो देशले नै विकास, सामाजिक रुपान्तरण र समृद्धिको लागि आशा राख्नु स्वाभाविक हो ।
(लेखक त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ)
प्रतिक्रिया राख्नुहोस्