युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग खतरापूर्ण रहेको जापानको चेतावनी
उत्तर कोरियाले रुसलाई सघाउन आफ्ना सेना पठाएपछि त्यसको कडा निन्दा गर्दै जापानले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली सैनिकले पूर्वी एसियाली सुरक्षामा ‘अत्यन्त प्रभाव’ पार्ने चेतावनी दिएको छ ।
जापानका विदेशमन्त्री ताकेशी इवायाले प्योङयाङले रूसमा हजारौं सैनिक पठाएको खबर सार्वजनिक भएपछि गर्नुभएको युक्रेन भ्रमणका क्रममा सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “यसले युक्रेनको अवस्थाको गम्भीरतालाई अझ गहिरो बनाउने मात्र होइन, पूर्वी एसियाको सुरक्षा स्थितिमा पनि निकै महत्वपूर्ण प्रभाव पार्नेछ,” इवायाले भन्नुभयो ।
“हामी यस घटनाप्रति गम्भीर र चिन्तित छौँ र यसको कडा शब्दमा भत्र्सना गर्दछौं।
मन्त्री इवायाले किएभ बाहिरको बुचा शहरको भ्रमण गर्नुभएको छ । रूसी सेनाले युद्धको सुरुमा छोटो समय युक्रेनी भूभाग बुचालाई कब्जा गरेको र नागरिकहरू माथि गम्भीर अत्याचार गरेको बताउने गरिएको छ । उहाँले भन्नुभयो, “जापान युक्रेनको साथमा उभिनेछ भन्ने हाम्रो अडान यथावत् छ ।”
इवायाले टोकियो र किएभका लागि युक्रेनी समकक्षी एन्ड्री सिबिगासँग ‘द्विपक्षीय उच्चस्तरीय सुरक्षा नीति वार्ता’ गर्न सहमत भएको बताउनुभएको छ ।
सिबिगाले उत्तर कोरियाली सेना युक्रेन द्वन्द्वमा प्रवेश गर्नु भनेको ‘युक्रेनमा युरोपेलीको मात्र नभई विश्वव्यापी सुरक्षा संरचनाको भविष्य पनि तय भइरहेको प्रमाण हो’ भन्नुभएको छ ।
युक्रेनी मन्त्रीले आफ्ना जापानी समकक्षीको भ्रमणलाई ‘विशेष गरी यस्तो कठिन समयमा ऐक्यबद्धताको महत्वपूर्ण सङ्केत’ भन्नुभएको छ ।
उहाँले किएभको टोकियोसँगको सम्बन्धको प्रशंसा गर्दै भन्नुभयो, “हामीबीच आठ हजार किलोमिटर दूरी भए पनि हाम्रा देशहरू सामाजिक तथा मानवीय नैतिक मूल्य मान्यतामा निकै नजिक छन्।”
प्रतिक्रिया राख्नुहोस्