वालिङ नगरपालिकाले ‘जनस्वास्थ्य विपद्’ घोषणा गर्यो
वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । वालिङ नगरकार्यपालिकाको आज बसेको बैठकले १४ वटै वडामा सङ्क्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।
वालिङस्थित गह्र प्राथमिक अस्पतालको ‘र्यापिड रेस्पोन्स टिम’ को बैठकले वालिङमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएकोले १० दिन बन्दाबन्दी गर्न सिफारिस गरेको र नगरस्तरीय कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी एक हप्ता बन्द गर्ने निर्णय गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“बन्दाबन्दी शुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्नेमा भन्दा कात्तिक महीनामा मात्रै सङ्क्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरेका हौँ”, नगरप्रमुख खाँणले भन्नुभयो । जनस्वास्थ्य ऐन एवं नियमावलीले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद् घोषणा गरी मानिसको भीडभाड हुने स्थान, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधन र सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
नगरपालिकाभित्र सभा समारोह, धार्मिक एवं सांस्कृतिक कार्यमा २५ जनाभन्दा बढी भेला हुन नदिने र एक हप्ताको अवधिलाई बन्दाबन्दी घोषणा गर्न जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
त्यस्तैगरी बैठकले नगरपालिकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा रहनुभएका सङ्क्रमितलाई कोभिड १९ को लक्षण देखा परिरहेको र बिरामीको तत्काल ब्यवस्थापनका लागि कोभिड अस्थायी अस्पतालमा आकस्मिक रुपमा उपचारका लागि औजार तथा उपकरण तत्काल खरीद गर्ने निर्णयसमेत गरेको छ ।
वालिङ नगरपालिकामा हालसम्म १६९ जना सङ्क्रमित भएकामा १४३ जना निको भएर घर फिर्ता गएका छन् भने हाल २३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । हालसम्म वालिङका तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।
“चैत ११ गतेदेखि असोज मसान्तसम्म वालिङमा सङ्क्रमितको संख्या ८४ जना थियो”, शाखा प्रमुख पाण्डेले भन्नुभयो, “कात्तिक महिनामा मात्रै समुदायस्तरमा ८५ जनामा कन्ट्याक्ट ट्रेसिङका आधारमा कोभिड पोजेटिभ देखिएकाले भित्रभित्रै अझै बढी सङ्क्रमित हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सबैले सहयोग गर्न अनुरोध गर्दछु ।” वालिङ नगरपालिकाले हालसम्म एक हजार ६२२ जनाको पिसिआर परीक्षण गरेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्