आज पनि सर्वोच्च परिसरमा झडप
गत कार्तिक १४ गतेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै भैरहेको लगातारको विरोध प्रदर्शन झडपमा परिणत हुन थालेको छ ।
आज पनि कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच सर्वोच्च परिसरमा प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा झडप भएको हो ।
हिजो प्रदर्शनमा रहेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए ।
आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ । कानून व्यवसायीले वरिष्ठ अधिवक्तालाई अगाडि लगाएर धर्नास्थल प्रवेश गर्न खोजेका छन् तर प्रहरीले उनीहरूलाई अघि बढ्न दिएको छैन ।
सर्वोच्चभित्र प्रवेश गर्न प्रहरीले रोकेपछि कानून व्यवसायीहरूले शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा चर्का नारा लगाएका छन् । उनीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गर्दै हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं भन्दै नाराबाजी गरेका थिए ।
कानुन व्यवसायीहरुले आफूहरुको आवाज प्रधानन्यायाधीश जबराले सुनुन् भनेर उनीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्