प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु
मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका नेताहरुले विहानै मतदान गर्नुभएको छ ।
त्यसै गरी चर्चित निर्वाचन क्षेत्र रहेको कास्की क्षेत्र नं. २ की उम्मेदवार विद्या भट्टराईले कासकीको भरतपोखरीस्थित शान्ति उदय माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
त्यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको छ ।
मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्