काठमाडौँ–९ मा एमालेलाई अग्रता, ४ मा गगन अगाडि
काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत प्राप्त गरेको छ । दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएको छ ।
यसै गरी काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ ।
बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार पाँच सय ११ मतमा नेपाली कांग्रेसका गगन थापाले छ सय ६८ मतसहित अग्रता लिनुभएको छ । यस्तै नेकपा (एमाले)का राजन भट्टराईले छ सय ३३ मत ल्याएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा ठाकुर मोहन श्रेष्ठले ६५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रतर्फका उम्मेदवार अर्जुनकुमारले २८ र अर्चनशम्शेर राणाले १९ मत प्राप्त गर्नुभएको छ भने ३८ मत बदर भएको छ ।
प्रतिक्रिया राख्नुहोस्