सिके राउत फराकिलो मतान्तरले विजयी
सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

मतगणनामा सुरुआतदेखि नै अग्रता लिनुभएका राउतले ३५ हजार ४२ मत प्राप्त गरी १८ हजार ६३ मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मत ल्याउनुभयो । सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुभएका लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गर्नुभयो ।
सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मतदान भएको थियो । जसमा ६० हजार नौ सय २१ मत सदर भएको छ भने तीन हजार दुई सय ९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।
गत निर्वाचनमा यादवले यसै क्षेत्रबाट २१ हजार सात सय २० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सप्तरी–२ को दुवै प्रदेशसभा सदस्यमासमेत जनमत पार्टीका सतिशकुमार सिंह र महेशप्रसाद यादव विजयी हुनुभएको हो ।
“स्वराज”को नारा लगाएर नेपाली राजनीतिमा आउनुभएका ४३ वर्षीय डा सिके राउत एक दशक लामो राजनीतिक अनुभव र संगठनको बलमा चुनावी मैदानमा उत्रिनुभएको हो ।
बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएका राउतले अमेरिकामा काम गर्दागर्दै राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल आएर “स्वतन्त्र मधेश” अभियान चलाएर विवादित पनि हुनुभयो ।
भूमिगत रहँदै आफ्ना गतिविधि गरिरहँदा केपी ओली नेतृत्वको सरकारसंग लिखित सहमति गरी खुला राजनीतिमा आउनुभएका राउत पहिलो प्रयासमै सफल हुनुभएको छ ।
हालसम्म सार्वजनिक सप्तरीको तीन वटै प्रदेशसभा सदस्यमा जनमत पार्टीले जित निकालेको छ । प्रदेशसभा सप्तरी–२ को दुवै सदस्यबाहेक जनमत पार्टीले सप्तरी ३ (२) मा पनि ४८ मतअन्तरले जित हासिल गरेको छ ।
जनता समाजवादी पार्टीका निवर्तमान प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव विकीलाई पराजित गर्दै जनमत पार्टीका इञ्जिनियर शम्भुकुमार साह ३ (२) बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
सप्तरीको बाँकी प्रदेशसभा सदस्यमा थप दुई वटामा जनमत पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ । जनमत पार्टीकोतर्फबाट सप्तरीको १ (१) मा सकिलमियाँले पाँच हजार तीन सय ५९ मतका साथ र ३ (१) मा रामप्रसाद मण्डलले छ हजार पाँच सय ३४ मतका साथ अग्रता लिनुभएको छ ।
नेकपा (एमाले) का राजकुमार लेखीले सप्तरी १ (१) मा तीन हजार दुई सय ५१ मत, नेकपा (एस) गोविन्दबहादुर न्यौपानले ४ (१) मा चार हजार नौ सय ७४ मत र स्वतन्त्रबाट अनिरुद्धकुमार सिंह यादवले ४ (२) मा दुई हजार छ हजार ६८ मतका साथ अग्रता कायम गर्नुभएको हो ।
प्रतिनिधिसभातर्फ कांग्रेसबाट सप्तरी–३ मा दिनेशकुमार यादव र ४ मा तेजुलाल चौधरी, सप्तरी–१ मा जसपाका नवलकिशोर साह अग्रस्थानमा हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्