यही मंसिर १६ गतेदेखि काठमाडौंमा सुरु हुने नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षामा रहेको नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी धराहरा परिसरबाट सार्वजनिक गरिएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी आठ टोलीका मार्की खेलाडीकाबीच एनपिएलको ट्रफी अनावरण गर्नुभएको हो ।
त्यस क्रममा उहाँले यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले भन्नुभयो, “खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ।’’
प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, “नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।’’
प्रतिक्रिया राख्नुहोस्