प्रतिनिधिसभामा आठजना महिला प्रत्यक्षतर्फ निर्वाचित
काठमाडौं । संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्दै महिलाको सहभागिता ३३ प्रतिशत किटान गरे पनि निर्वाचनमा दलहरुले सो प्रावधानन पालना गरेनन् ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ देशभर दुई हजार चार सय २२ उम्मेदवार बन्दा महिलाको संख्या दुई सय २५ जना मात्र रहेका थिए भने जम्मा आठ जना महिला, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा धेरै महिला उम्मेदवार उठाएको बताउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)बाट १२ जना महिला उम्मेदवार थिए । रास्वप बाट दुई जना महिला निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का ११ महिला उम्मेदवारमा तीन जना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका पाँच महिला उम्मेदवारमा एक र नेकपा माओवादी केन्द्रका सात महिला उम्मेदवारमा एक जना निर्वाचित भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका एक महिला प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् ।
डा तोसिमा कार्की (ललितपुर–३)
प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा तोसिमा कार्की प्रवेश गर्नुभएको छ । उहाँले ३१ हजार एक सय २६ मतसहित विजय प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । उहाँले आफना निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का लाई पराजित गर्दै विजय हुनुभएको हो ।
उहाँ पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुनुहुन्छ । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा १० सम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा भएको थियो । मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबिबिएससम्मको अध्ययन पूरा गर्नुभएको हो ।
काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ । भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गर्नुभएकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय रहेको बताउनुहुन्छ ।
सोविता गौतम (काठमाडौँ–२)
राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित सोविता गौतम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको छ । २७ वर्षीया गौतम सबैभन्दा कान्छी प्रतिनिधिसभा सदस्य बन्नुभएको हो । उहाँ पन्ध्र हजार दुई सय ३८ मतसहित निर्वाचित हुनुभएको हो । दोलखा तामाकोसी गाउँपालिका स्थायी घर भएकी गौतम परिवारसँग काठमाडौँ बस्दै आउनुभएको छ ।
कानुनमा स्नातक गौतमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी सल्लाहाकारको रूपमा काम गदै आउनुभएको छ । गौतमसँग सामाजिक सङ्घसंस्थासँगै नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको समेत अनुभव छ ।
जुलीकुमारी महतो (धनुषा–३)
धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३, प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । उहाँले ३३ हजार तीन सय ८८ मतसहित विजयी हुनुभएको छ । पाँच दलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई पराजित गर्दै उहाँ तेस्रो पटक निर्वाचित हुनुभएको हो ।
४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको थियो । तीन दशकदेखि राजनीतिमा क्रियाशील उहाँले संसदीय यात्रा भने २०६४ बाट सुरु भयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा ३ मा पराजित हुनुभएको थियो । ०७४ मा पुन समानुपातिक सदस्य निर्वाचित हुनुभयो ।
जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उहाँको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सालसम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहनुभएकी उहाँले २०५२ मा विवाहपछि श्रीमान् रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आउनुभएको छ । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र पार्टीको जनकपुर अञ्चल कमिटी सदस्य हुँदै ०७४ मा केन्द्रीय सदस्य बन्नुभयो । उहाँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत बन्नुभएको थियो ।
विद्या भट्टराई (कास्की–२)
कास्की निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)की विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार नौ सय ९८ मतसहित निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो ।
कास्की भरतपोखरी स्थायी घर भएकी भट्टराई स्व रवीन्द्र अधिकारीकी श्रीमती हुनुहुन्छ । ४९ वर्षीया भट्टराई प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ कास्की जिल्ला निर्वाचन क्षेत्र नं–२ बाट भएको भएको हो । २०४६ सालबाट विद्यार्थी राजनीति सुरु गर्नुभएको भट्टराईको संसदीय यात्रा भने सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य उपनिर्वाचन मा कास्की–२ बाट निर्वाचित भएर सुरु भयो । उहाँले एमफिलसम्म अध्ययन गर्नुभएको छ ।
झण्डै १७ वर्ष शिक्षण पेसामा आबद्ध उहाँले त्रिभुवन विश्वविद्यालयको स्थायी सेवा छाडेर श्रीमान् रवीन्द्र अधिकारीको निधनपछि उपनिर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । अनेरास्ववियु महिला विभाग प्रमुखका रूपमा २०५० सालमा चार वर्ष जिम्मेवारी सम्हाल्नुभएको उहाँले २०५५ मा केन्द्रीय सदस्य हुँदै एमाले काठमाडौँको महिला कमिटी सचिव बन्नुभयो ।
रेखा शर्मा (दाङ–२)
दाङ जिल्ला निर्वाचन क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा निर्वाचित हुनुभएको छ । छब्बीस हजार आठ सय ८० मतसहित निर्वाचित हुनुभएको शर्माले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई पराजित गरेर उहाँ निर्वाचित हुनुभएको हो ।
५३ वर्षीया शर्मा पहिलोपटक २०७० मा संविधानसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्रबाट समानुपातिकमा सदस्य बन्नुभएको उहाँले ०७४ मा पनि समानुपातिक प्रणालीबाटै निर्वाचित हुनुभयो । उहाँ सामान्य प्रशासनमन्त्री, राज्य व्यवस्था तथा सुशासन समिति सदस्य, पार्टीको संसदीय दलको सचेतकसमेत बन्नुभयो ।
घोराही उपमहानगरपालिका १८, दाङको स्थायी बासिन्दा शर्माले २०४२ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गुर्न भएकोहो । उहाँले अनेमसङ्घ क्रान्तिकारीको अध्यक्ष हँुदै २०७५ मा पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । सशस्त्र द्वन्द्वको समयमा २०५८ सालमा एक वर्ष सैनिक हिरासतमा समेत बस्नुभयो ।
ज्वालाकुमारी साह (बारा–३)
बारा निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले)की ज्वालाकुमारी साह निर्वाचित हुनुभएको छ । बीस हजार दुई सय ५१ मतसहित निर्वाचित हुनुभएकी साहले निकटतम प्रतिस्पर्धी जसपा नेपालका रामबाबुकुमार यादवलाई पराजित गर्नुभएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका–१६ की स्थायी बासिन्दा साहले २०५४ सालदेखि भूमिगतरूपमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी राजनीति यात्रा थालनी गर्नुभएको थियो । संसदीय यात्रा भने पहिलो संविधानसभामा मनोनित सदस्यका रूपमा सुरु भयो । ०७४ मा मधेस प्रदेशको प्रदेशसभा निर्वाचन क्षेत्र नं–३, क, मा निर्वाचित हुनुभएको थियो । ४१ वर्षीया साह संवैधानिक राजनीति समितिको सदस्य, भूमिसुधार राज्यमन्त्री र पर्यटन राज्यमन्त्रीका साथै १३ दिनको छोटो समयका लागि कृषिमन्त्रीसमेत बन्नुभयो ।
रञ्जिता श्रेष्ठ (कैलाली–१)
कैलाली–१ मा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । तीस हजार चार सय चार मतसहित निर्वाचित हुनुभएको श्रेष्ठले प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्नुभयो ।
पूर्वसांसद रेशमलाल चौधरीकी श्रीमती श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत हुनुहुन्छ । टीकापुर घटनामा दोषी ठहर भई हाल जेल जीवन बिताइरहेका श्रीमान्लाई अघिल्लो निर्वाचनमा सहयोग गर्नुभएको श्रेष्ठ यस पटक आफैँ निर्वाचन मैदानमा उत्रिनुभएको थियो ।
सीता गुरुङ (तेह्रथुम–१)
तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङले १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गर्नुभएको छ ।
विसं ०७४ मा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत भएकी गुरुङले ०७४ को निर्वाचनमा एमालेका भवानीप्रसाद खापुङसँग पराजित हुनुभएको थियो । त्यसअघि गुरुङ दुवै पटकको संविधानसभा सदस्यमा समानुपातिकबाट निर्वाचित हुनुभएको थियो ।
तेह्रथुम इवा नगरपालिकाकी स्थायी बासिन्दा गुरुङको राजनीतिक यात्रा विसं २०४६ बाट सुरु भयो । नेविसङ्घ जिल्ला सचिव, तरुण दल जिल्ला कोषाध्यक्ष, नेपाल महिला सङ्घको जिल्ला सभापति हुँदै नेपाल महिला सङ्घको केन्द्रीय सदस्य र सचिव बन्नुभयो । ०६७ मा काग्रेसको केन्द्रीय सदस्य बन्नुभएको उहाँ ०७८ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
प्रतिक्रिया राख्नुहोस्