राजनीति

चीनसंग प्रसारण लाइन सम्झौतापछि भारतद्वारा विद्युत व्यापार सम्झौता गर्न आनाकानी

भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरीद गर्ने गरी भएको सहमति विपरीत अहिले आएर सम्झौतामा हस्ताक्षर गर्न भारतको आनाकानी गरिरहेको छ ।

नेपालले विद्युत् व्यापारका लागि भारतपछि चीनतिर पनि पाइला अघि बढाएसँगै भारतले कूटनीतिक प्रतिक्रियाका रुपमा दीर्घकालीन विद्युत् व्यापार सम्झौतालाई रोकेको हुनसक्ने ऊर्जाका अधिकारी अनुमान गरेका छन् ।

भारतले सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गर्नुको कारण नेपालले चीनसँग प्रसारणलाइन जोड्ने गरी गरेको पछिल्लो सम्झौता कारक रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ५ असोजदेखि गरेको चीन भ्रमणका क्रममा रसुवाको चिलिमे सबस्टेसनदेखि चीनको केरुङसम्म २२० केभीको प्रसारणलाइन बनाउने समझदारी भएको थियो ।

यसअघि गत १७–२० जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युत व्यापारमा सहमति जुटेको र त्यहाँको मन्त्रिपरिषद्ले अनुमोदन गरेको ३ महिना बित्न लागिसक्दा समेत सम्झौतालाई वैधता दिने गरी हस्ताक्षर गर्न रुचि देखाएको छैन ।

भारतको अलमलले भारतीय लगानीका आयोजनाहरुबाटै उत्पादित बिजुलीलाई मात्रै ग्राह्यता दिने रणनीतिको संकेत गरेको बताउन थालिएको छ ।

भारत १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा आफूलाई दिलाउन नेपाल सरकारसँग पहल गरिरहेको छ । तर, सरकार सो आयोजना विश्व बैंकको सहयोगमा निर्माण गर्ने गरी अघि बढिसकेको छ ।

भारतीय सरकारी कम्पनी सतलज विद्युत् निगमले अरुण नदी बेसिनमा यसअघि अरुण तेस्रो, तल्लो अरुण र अरुण ४ गरी ३ वटा आयोजना हात पारिसकेको छ । किमाथांका अरुण आयोजनामा पनि भारतको चासो छ । तर, सरकार भने चीनको सीमावर्ती क्षेत्रको किमाथांका अरुण चीनलाई दिने पक्षमा छ ।

भारतको जोड अरुण नदीमा बन्ने आयोजनाहरुमा मात्रै छैन, तमोर नदीमा पनि प्रवेश गर्न चाहन्छ । हाल चीनको पावर चाइनासँग निर्माण अधिकार रहे पनि निर्माणमा अलमल भएको तमोर जलाशययुक्त परियोजना आफैंले बनाउन भारतीय कम्पनी इच्छुक छ ।

सरकारले पावर चाइनालाई आयोजनाबाट बिदा गर्न खोजे पनि चिनियाँ पक्षको असन्तुष्टिका कारण लगानी बोर्डले निर्णय लिन सकेको छैन ।

यसरी जलविद्युत् समेत चीनसँगको भूराजनीतिसँग जोडिन थालेकाले नेपाललाई सहजै विद्युत् बजार दिने पक्षमा भारत नदेखिएको अधिकारीहरुको बुझाइ छ ।

यसबाहेक २ भदौ २०७९ मा भारत सरकारको एनएचपीसी इन्डिया लिमिटेडले विना प्रतिस्पर्धा एकसाथै दुई कम्पनी हात पारेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा पश्चिम सेती (७५० मेगावाट) र सेती नदी–६ (४५० मेगावाट) आयोजना निर्माणका लागि एनएचपीसीले लगानी बोर्ड नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डको गत जेठको भ्रमणकै बेलामा ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् परियोजनामा पनि भारतीय लगानी भित्र्याउन सहमति भएको छ । भारतकै निजीस्तरको जीएमआर कम्पनीले ८ वर्षदेखि माथिल्लो कर्णाली आयोजनाको अनुमतिपत्र ओगटेर बसेको छ ।

यस्तो अवस्थामा अहिले भारतको पकडमा रहेका आयोजनाको मात्र बिजुली किन्ने गरी सम्झौता गर्न खोज्ने हो कि भन्ने आशंका बढ्न थालेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.