बङ्गलादेशमा हिन्दू नेता कृष्णदास ब्रह्मचारी पक्राउ
बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका एक हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्णदास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो ।
लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगष्ट क्रान्तिले सत्ताच्युत गरेपछि १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा धार्मिक सम्बन्ध तनावपूर्ण बनेको छ ।
हसिनालाई सत्ताच्युत गरिएपछिका दिनहरूमा हिन्दूहरूमाथि प्रतिशोधको शृङ्खला बढेको देखिन्छ । ढाका प्रहरीका प्रवक्ता तालेबुर रहमानले ब्रह्मचारीलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो तर उहाँमाथि लगाइएका आरोपबारे विस्तृत विवरण भने दिन चाहनुभएन ।
गत अक्टोबरमा ब्रह्मचारीले चटगाउँ शहरमा एक विशाल ¥यालीको नेतृत्व गरेपछि उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो । उहाँमाथि बङ्गलादेशको राष्ट्रिय झण्डाको अनादर गरेको आरोप लागेको थियो।
बङ्गलादेशसम्मिलित सनातन जागरण जोते समूहका ब्रह्मचारीलाई राजधानी ढाकाबाट चटगाउँतर्फ जाँदै गर्दा पक्राउ गरिएको समूहका एक वरिष्ठ नेताले एएफपीलाई जानकारी दिए ।
उहाँले एएफपीसँग भन्नुभयो, “समितिका सदस्य प्रशान्तकुमार हल्दारले एएफपीसँग भन्नुभयो, “उहाँमाथि लगाइएको आरोपबारे हामीलाई जानकारी छैन । जोते समूहले ब्रह्मचारीको रिहाइको माग गर्दै मङ्गलबार ¥याली निकाल्नेछ, हामी देशभर उहाँको समर्थनमा ऐक्यवद्धता जनाउन देशभर मानव साङ्लोमा सामेल हुन आग्रह गर्दछौं ।”
धार्मिक अल्पसङ्ख्यकलाई समर्थन गर्ने बङ्गलादेशको हिन्दू, बौद्ध, क्रिश्चियन युनिटी काउन्सिलले ब्रह्मचारीको गिरफ्तारीको निन्दा गरेको छ ।
ब्रह्मचारी नयाँ समूहमा सामेल हुनुअघि हरे कृष्ण आन्दोलन भनिने अन्तर्राष्ट्रिय कृष्ण चेतना समाज (इस्कोन) का सदस्य हुनुहुन्थ्यो ।
बङ्गलादेशमा अल्पसङ्ख्यक धर्मावलम्बीहरूमध्ये सबैभन्दा बढी प्रभाव हिन्दू समुदायको छ अर्थात् यहाँको जनसङ्ख्याको लगभग आठ प्रतिशत हिन्दू छन् ।
प्रतिक्रिया राख्नुहोस्