छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सिराहा, सिन्धुली र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सिराहा, बरियारपट्टी गाउँपालिका-३ बलुवा टोलस्थित सडकमा ज.१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको छ ।
सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । त्यस्तै सिन्धुली, मरिण गाउँपालिका-७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा.प्र ०३-००१ च १६२३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई उक्त बोलेरो पल्टिएर लाग्दा सडक पेटीमा बसिरहेकी पैदलयात्री मरिण गाउँपालिका-७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । कार र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ पश्चिम बस स्ट्याण्डस्थित सडकमा प्र.१-०२-०४० प ६०२५ नम्बरको मोटरसाइकललाई एनएल-०१ एडि ५५११ नम्बरको लहरीले सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-११ कुबिदा टोल बस्ने २० वर्षीय टार्जन राईको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्