मानव तस्करीमा संलग्न रहेको आरोपमा विगतत १५ दिनदेखि प्रहरी हिरासतमा रहनुभएका नेकपा एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भयो ।
जिल्ला सरकारी वकिलको कार्यालयले जापान पुगेर फर्किएकाहरुले पूर्व मन्त्री अधिकारीलाई रकम बुझाएको नखुलेको भन्दै सोमबार मुद्दा नचलाउने निर्णय गरेको हो ।
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने आधारका रुपमा उहाँले आरोप अस्वीकार गर्नु र पक्राउ परेका युवाहरुको बयान मुख्य रहेको बताइएको छ ।
जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अन्य ३ युवा जापानबाट डिपोर्ट भएर फर्किएको भए पनि पूर्वमन्त्री अधिकारी जापानमा पुगेर अध्यामनसँग आफैं समन्वय गरेर फर्किएको पाइएको भन्दै मुद्दा नचलाउने जानकारी दिनुभएको छ ।
अर्यालले भन्नुभयो, “आरोपीहरुको बयानका साथै उहाँले पनि मानव तस्करीको कसुरमा संलग्नता इन्कार गर्नुभएको छ र तस्करीको विषय कल्पना पनि गर्न नसक्ने बयान दिनुभएको छ ।”
पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान जानुभएको थियो ।
उहाँसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।
पछि मन्त्री अधिकारीसहित चारैजनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।
तर, प्रहरीले गरेको जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वमन्त्री अधिकारीसँग उनीहरुको काठमाडौंमा भेट नभएको विषयलाई आधार बनाउँदै मुद्दा नचलाउने निर्णय गरिएको छ ।
पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा सरकारी वकिलले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई पनि मुख्य आधार बनाएको छ ।
अर्यालले यी विषयहरु हेर्दा अधिकारीविरुद्ध मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको र बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभएको छ ।
नेकपा एमालेका तर्फबाट कोशी प्रदेशसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री अधिकारीले जापानबाट फर्केको केही दिनमै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्