वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा समेट्न ढिलाइ गर्नुहुन्न
गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले विदेशमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष थापाले संघले स्थापना कालदेखि नै निकै प्राथमिकताका साथमा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै आएको स्मरण गराउँदै विदेशमा रहेका बहुसंख्यक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
विदेशमा रहेका श्रमिकको श्रमको ठूलो हिस्सा नेपालमा रेमिटेन्सको माध्यमबाट भित्रिरहेकोले उनीहरुलाई आफ्नो देशप्रति थप जिम्मेवार र अपनत्व महसुस गराउनसक्ने उहाँको भनाइ थियो ।
संघले वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक, कानूनी लगायतका सहयोग र परामर्श समेत दिँदै आएको जानकारी गराउँदै उहाँले सरकारसंग सहकार्यका लागि तत्पर रहेको पनि बताउनुभयो ।
अध्यक्ष थापाले नेपाली कामदरहरुलाई वैदेशिक रोजगारमा जानु अघि अनिवार्य रुपमा सीप मुलक तालिम र गन्तब्य मुलुकको भाषा र रहन सहन बारे जानकारी दिनु जरुरी रहेको तर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।
उहाँले यस्तो तालिमका लागि ७ वटै प्रदेशमा सीप तालिप केन्द्र स्थापना गर्न जरुरी रहेको र यसका लागि संघले नेपाल सरकारसंग समन्वय गरिरहेको बताउनुभयो ।
अध्यक्ष थापाले जीवनको उर्वर समय र उमेरमा वैदेशिक रोजगार गएका तर त्यही वैदेशिक रोजगारबाट घाइते भएर वा अंगभंग भएर स्वदेश फर्किएकाहरुको जीवन यापनका लागि सामाजिक सुरक्षा अनिवार्य रहेको पनि बताउनुभयो ।
अहिले सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई यो योजनामा जोड्नका लागि आवश्यक कार्यविधि संशोधनसहित पारित भइसकेको तर कार्यन्वयनमा आउने तयारी भइरहेको जानकारी दिनुभयो ।
यसैगरी अध्यक्ष थापाले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन, नेपालमा सीप तथा तालिम केन्द्र स्थापना गर्न र रिइन्ट्रिग्रेसनमा संघले सरोकारवाला निकायहरुसंग पहल गरिरहेको जानकारी कार्यक्रममा गराउनु भयो । त्यसमा संघ नेपाल सरकारसँग सहकार्य गर्न सदैव तत्पर रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्