अबको राजनीति जनताले खोजे अनुसार अघि बढ्नुपर्छ
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिनुभएको छ । झापाको भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो- “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ । जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ ।”
मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेको उहाँको भनाइ छ । “पुरानो राजनीतिक शैलीलाई अघि बढाएर लक्ष्यमा पुग्न सकिँदैन”, उहाँले भन्नुभयो, “यसतर्फ पनि सोच्ने बेला आएको छ ।”
निर्वाचनबाट कोही विजय, कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने भएकाले आफू राजनीतिमा सक्रिय रहने समेत उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले निर्वाचनको अन्तिम परिणामसँगै सत्ता गठबन्धनले आगामी पाँच वर्ष प्रतिगमनविरुद्ध मिलेर सरकार चलाउने र देशमा देखिएका समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्