जन सरोकार

अदालतको आदेश विपरीत मुक्तिनाथ मन्दिरभित्रको भेटी अझै व्यक्तिको कब्जामा

प्राकृतिक सुन्दरतासंगै धार्मिक आस्थाको केन्द्र बनिरहेको मुस्ताङको मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी अदालतको आदेश विपरीत मन्दिरको कोषमा जानुको साटो व्यक्तिको कब्जामा रहने गरेको छ ।

एक दशकअघि तत्कालीन पुनरावेदन अदालत बागलुङले मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरकै सम्पत्तिका रूपमा व्यवस्थित गर्न फैसला गरेको थियो ।

तर, यसको विपरीत मन्दिरबाहिर राखिएका दानपेटीका र नगदी रसिदमार्फत प्राप्त भएको नगद भेटी मात्र गणना गरी कोषमा जम्मा गरिन्छ ।

मन्दिर दर्शन गर्न आएका अधिकांश तीर्थयात्री तथा धार्मिक पर्यटकले मन्दिरभित्र चढाएको पैसा, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरमा रहेका आनी–झुमाको कब्जामा पर्ने गरेको हो ।

जिन्सी तथा नगद भेटी मुक्तिनाथ क्षेत्र विकास कोष मातहत ल्याउनुपर्ने सरोकारवालाको सुझाव र अदालतको फैसलालाई समेत कार्यान्वयन गर्न अटेर गरिएको छ ।

अदालतको फैसलामा गरगहना सार्वजनिक गर्दै कोष मातहत ल्याउनुपर्ने फैसला पुनरावेदन अदालत बागलुङले २०७० साल पुस २२ गते गरेको थियो ।

अदालतको उक्त फैसला कार्यान्वयन गर्न जनप्रतिनिधि र सम्बन्धित मुक्तिनाथ क्षेत्र विकास समितिले चासो देखाएका छैनन् ।

मन्दिरको दानपेटीमा भन्दा मन्दिरभित्र भक्तजनले धेरै पैसा चढाउने गर्दछन् । सबै भेटीलाई मन्दिर मातहत ल्याउने हो भने कोषमा ठूलो रकम जम्मा हुन्छ ।

गोरखापत्र दैनिकमा छापिएको समाचार अनुसार मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यस विषयमा छलफल र बहस भए पनि सार्थक हुन नसकेको बताउनुभयो । जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग छलफल गरेर फैसला कार्यान्वयनमा लैजान सकिने उहाँको भनाइ छ ।

मुक्तिनाथ क्षेत्र विकास समितिका सदस्य सचिव तथा मालपोत कार्यालय मुस्ताङका प्रमुख सरस्वती थापाले मन्दिरदेखि बाहिर राखिएका दानपेटिकामा सङ्कलन भएको रकम मात्र गणना गरी कोषमा जम्मा गर्ने गरिएको बताउनुभयो ।

कोषमा अहिले करिब आठ करोड रुपियाँ जम्मा भएको उहाँले बताउनुभयो । दानपेटीका र मन्दिर परिसरमा नगदी रसिदमार्फत भक्तजनले प्रदान गरेको रकमलाई कोषमा जम्मा गर्ने गरिएको उहाँले बताउनुभयो ।

दानपेटिका भरिएपछि रकम गणना गर्ने प्रचलन छ । यसअघि गत जेठमा भेटी गणना गरिएको र अहिले फेरि दानपेटीका भरिन थालेकाले मङ्सिरको अन्तिममा गणना गर्ने सदस्य सचिव थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.