जन सरोकारसंस्कृति

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

नुवाकोटको विदुर नगरपालिकाले घरमा सुत्केरी गराउने प्रचलन अन्त्य गर्दै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

सुत्केरी

नगरपालिकाले गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा जाँच गराइ बर्थिङ सेन्टर (प्रसूति गृह)मा सुत्केरी गराउने र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउन उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

उपप्रमुख प्रभा बोगटीका अनुसार सुत्केरीलाई ‘पोषण विशेष कार्यक्रम’मार्फत पोषण राहत प्याकेज उपलब्ध गराई पोषण र सरसफाइको महत्व बुझाउन थालिएको छ । उक्त सेवा लिन बच्चाको जन्मदर्ता अनिवार्य गराइ घटना दर्ता अभियानसँग आबद्ध गरिएको छ ।

उक्त मापदण्डभित्रका सुत्केरीलाई ‘पोषण प्याकेज’ प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी घरदैलोमा वा नजिकैको स्वास्थ्य संस्थामा जाने गरेका छन् । गर्भवती र सुत्केरी समयमा पोषणसहितको सरसफाइको सावधानी एवम् सचेतना जगाउनसमेत पोषण प्याकेज लिएर घरघरमा जान थालेको स्वास्थ्य शाखा प्रमुख रामराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुत्केरी हुने अवस्थामा हुनसक्ने जोखिम न्यूनिकरण, नियमति गर्भवती जाँच र सुत्केरीको स्याहारमा सहयोग पुर्याउन नगद र राहत प्याकेज कार्यक्रम एकैसाथ सञ्चालनमा ल्याइएको हो ।

“गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा नियमित जाँच गराइ बर्थिङ सेन्टरमा सुत्केरी गराएमा ‘सुत्केरी स्याहार खर्च’ बापत रु तीन हजार नगद प्राप्त गर्नेछन”, उहाँले भन्नुभयो, “बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा उनीहरुको पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा पुगेर ‘सुत्केरी पोषण प्याकेज’ प्रदान गरिने छ ।”

उक्त प्याकेजमा घ्यू, नरिवल, छोगडा, बदाम, दाल, गुद, ठूलो औषधिसहित सरसफाइसँग सम्बन्धित सामग्री समावेश गरेर सुत्केरी भेट्न जनप्रतिनिधि र कर्मचारी घरमै वा नजिक पर्ने स्वास्थ्य संस्थामा जान सुरु गरिएको नगरपालिकाले नजाएको छ ।

यस अभियान वार्षिक दुई पटक मङ्सिर र जेठमा राखिएको हुँदा गर्भवती र सुत्केरीले जनप्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमसमेत मिलाइएको छ ।

पोषण प्याकेज लिएर स्वास्थ्यकर्मीसहित नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल एवम् सम्बन्धित वडाका वडाध्यक्ष, सदस्यले सुत्केरीसँग प्रत्यक्ष साक्षात्कार गर्ने, उनीहरुको गुनासो सुन्ने र सुझाव सङ्कलन गर्ने अवसरको रुपमा पनि नगरले लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.