क्रिकेटखेल

राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो उपाधि

मधेश प्रदेशले पोखरामा सम्पन्न केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । शुक्रबार आर्मी क्लबलाई हराउँदै मधेशले पहिलोपटक उपाधी जितेको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिता मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको राष्ट्रिय खेलाडीले भरिएको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ तथा विवेक यादवले अविजित २५ रन बनाए । जित लागि अन्तिम ओभरमा आर्मीलाई २४ रन चाहिएको थियो ।

जसमा विवेक यादवले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै आर्मीलाई जितको आशा जिवित राखेका थिए । तर तेस्रो बलमा उनले सिंगल लिएपछि आर्मीलाई ३ बलमा १३ रन चाहियो । ३ बलमा सोमपालले १ रन मात्र जोड्न सके ।

कप्तान विनोद भण्डारी र सन्तोष कार्कीले आर्मीलाई राम्रो सुरुवात दिलाएका थिए । यो जोडीले पहिलो विकेटका लागि ४.४ ओभरमा ३२ रनको साझेदारी गरेको थियो ।

तर प्रदीप पासवानले सन्तोषलाई एलबीडब्लू धरापमा पारेपछि आर्मीको विकेट जान थाल्यो । त्यसपछि कप्तान विनोदलाई राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले क्रिजमा साथ दिए ।

तर रोहित ११ बल खेलेर ५ रन मात्र बनाई आउट हुँदा आर्मीले ३९ रनमा दोस्रो विकेट गुमायो । ठूलो सट हान्ने चक्करमा रोहितलाई पर्थिक यादवले मायान यादवबाट क्याचआउट गराए ।

त्यसपछि कप्तान विनोद र बसिर अहमदले इनिङस अघि बढाएका थिए । तर ११ औं ओभरमा मधेशका कप्तान हरिशंकर शाहले ३ विकेट लिएपछि आर्मी दबाबमा परेको थियो ।

हरिशंकरले उक्त ओभरमा विनोदसहित बसिर र कुशल मल्लको विकेट लिएपछि आर्मीले ५८ रन हुँदा ५ विकेट गुमायो ।

१३ औं ओभरमा हरिशंकरले नै आर्मीका राजेश पुलामीलाई आउट गरे । आर्मीका लागि भीम सार्कीले एक छेउबाट इनिङ्स सम्हालिरहेका थिए ।

भीमले २१ बल खेल्दै २ चौका र एक छक्कामा २२ रन बनाएर १७ औं ओभरमा आउट भए । उनलाई प्रदीप पासवानले कट एण्ड बोल्ड गरे ।

त्यसपछि सोमपाल कामी र विवेक यावदले इनिङ्स सम्हाले पनि जिताउन सकेनन् । विवेक २५ र सोमपाल १६ रनमा अविजित रहे ।

मधेशका कप्तान हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्तेर ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । पर्थिक यादवले ३ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले विशाल पटेलको आक्रमक ब्याटिङमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । सातौं नम्बरमा ब्याटिङ गरेमा विशाल पटेलले ३२ बल खेल्दै समान ३ चौका र ३ छक्का नटआउट ४९ रन बनाए ।

आर्मीका लागि शहाब आलमले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ५ रन मात्र खर्चेर ३ विकेट लिए । जिवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले एक एक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.