धर्म, संस्कृति र परम्पराको धनी मार्फाका स्याउ बगैंचाले तान्दै आगन्तुक (भिडियोसहित)
स्याउको राजधानीका रुपमा परिचित मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ पर्यटकहरुको रोजाइमा परेको छ ।
रसिला र स्वादीलो स्याउ उत्पादन हुने मार्फा संस्कृति र प्रकृतिमा धनी छ । मार्फाको स्याउबारी, थकालीको रहनशहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याएको हो । लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ति बसालेको एक सय ५० घरपरिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ ।
सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीऔ अघिको मौलिकता बचाएर राखेका छन् ।
कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुख्खा पहाड छ । कृषि सम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न शितोष्ण बागबानी विकास फार्ममा पर्यटकहरु भुल्ने गर्छन् ।
एकैनासको घरहरुको मार्फाको बाक्लो बस्तिको बिचमा रहेको पदमार्गमा बिहान देखि साँझ सम्म पर्यटकहरु तस्विर, भिडियो खिचेर रमाईरहेको भेटिन्छन् ।
पर्यटकहरुले हिमाली भेगको पोशाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । यसैगरी याकको डमी पनि राखिएको छ । मार्फा हुदै संसारको सातौ अग्लो धौलागिरि हिमालको आधार शिविर जान सकिन्छ ।
वार्षिक चार लाख भन्दा बढी स्वदेशी र विदेशी पर्यटक भित्र्ने मुस्ताङको प्रमुख गन्तब्यको रुपमा विकास भएको मार्फाको मौलिकता संरक्षण र पर्यटन प्रर्वद्धनमा जोड दिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले बताउनुभयो ।
मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योगहरू छन् । २० बढी होटेलहरू सञ्चालन भएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोशेली घरहरुबाट स्याउ, सकुटी, दाल, ब्राण्डि किनेर लैजाने गर्छन् ।
भिडियो –
प्रतिक्रिया राख्नुहोस्