पाँच वर्षदेखि बन्द विद्यालय एकजनाको पहलमा यसरी खुल्यो
पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्सेवी शिक्षक बनेर पढाउन थालेपछि जनता आधारभूत विद्यालयले पुनर्जीवन पाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले आफू स्वयम्सेवी शिक्षक बनेर पढाउने प्रस्तावसहित विद्यालय खोल्न आग्रह गरेर अभिभावकको सहमति लिएपछि विद्यालय सञ्चालन भएको छ ।
बन्द रहेको विद्यालय यस वर्षको लकडाउनपछि गत भदौ ३० गतेदेखि सुरु भएको हो । विद्यालयमा अहिले २२ विद्यार्थी भर्ना भइसकेका छन् ।
लिमिठाना गाविसका पूर्वाध्यक्षसमेत रहेका तिमिल्सिना शिक्षण सेवाबाट अनिवार्य अवकाश भएपछि विद्यालय सञ्चालन गर्न जुट्नु भएको थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थी घण्टौँको यात्रा गर्दै अन्यत्रका विद्यालयमा गए पनि बाल कक्षाका विद्यार्थीलाई भने त्यो सम्भावना नहुने भएकाले बाल कक्षा भने सोही विद्यालयमा चल्दै आएको थियो ।
बाल विकास केन्द्रमा कार्यरत एक शिक्षक र एक कार्यालय सहयोगी मात्रै रहँदै आएको विद्यालयमा यतिखेर २ कक्षासम्मको पढाइ भइरहेको छ । अहिले क्रमिक रूपमा विद्यार्थी बढ्दै गएका र अब क्रमशः कक्षा ५ सम्मै पठनपाठन गराउने योजनामा आफूहरू रहेको तिमिल्सिना बताउनुहुन्छ ।
“पहिलो पटकको प्रयासमा कुरा मिलेन, म पनि त्यत्तिकै बसेँ, विद्यालय सुरु गर्नैपर्छ भन्ने मेरो मनमा खसखस त छँदै थियो, फेरि दोस्रोपटक भेला बोलाएपछि गाउँलेले ल तपाईं नै अध्यक्ष भएर काम गर्ने भए हामी तयार छौँ भने”, उहाँले भन्नुभयो, “राजनीतिक रूपमा कसैले पनि हस्तक्षेप गर्ने, निहुँ खाज्ने गर्ने काम गर्ने हो भने म तयार छैन, मैले भनेको मान्ने हो भने म विद्यालय चलाउँछु भनेपछि सबैको सहमति भयो, अहिले २२ विद्यार्थी भर्ना गरिसकेको छु ।”
विद्यालय सञ्चालनमा आएपछि अभिभावक पनि खुसी छन् । गाउँको विद्यालयलाई सबैको साझा तथा बराबर दायित्व भएको विद्यालयका रूपमा चलाउने भनेपछि घण्टौँको दूरीमा बालबालिकालाई विद्यालय पठाउँदै आएका अभिभावकको मनमा खुसी मिलेको अच्युतराज पन्तले बताउनुभयो ।
नगरपालिकाको शिक्षा शाखाप्रमुख कृष्ण आचार्यले लामो समयसम्म बन्द रहेको विद्यालय सञ्चालनमा आउनु खुसीको कुरा भएको जनाउँदै अहिले सुरुमा एक शिक्षकको दरबन्दी व्यवस्थापन गर्ने काममा आफूहरू लागेको बताउनुभयो ।
विद्यालयले क्रमिक रूपमा कक्षा थप गर्दै जाने र विद्यार्थी सङ्ख्यासमेत बढाउने भनेका कारण त्यो भएमा पुनः दरबन्दी पनि थप गर्न सकिने उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्