पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा अहिले कर्णाली याक्सले जनकपुर बोल्ट्स सामू जितको लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । कर्णालीको लागि गुलसन झाले २७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए भने अर्जुन घर्तीले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३३ रन जोडे ।
त्यस्तै कप्तान सोमपाल कामीले १३ बलमा ३ चौका र १ छक्काको मद्दतमा २९ रनमा अविजित रहँदा शिखर धवनले १४ र बाबर हायतले १२ रन जोडे । जनकपुरको लागि मोहम्मद मोहसिनले २ विकेट लिए भने ललितनारायण राजवंशी, हर्श ठकर, किशोर महतो र जिमी निशमको भागमा समान १-१ विकेट रह्यो ।
जारी प्रतियोगितामा कर्णाली याक्सको यो पहिलो खेल हो भने जनकपुर वोल्ट्सको दोस्रो खेल हो । जनकपुर वोल्ट्सले शनिबार पहिलो खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो ।
कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामी मार्की खेलाडी रहेका छन् । अन्य खेलाडीमा गुल्शनकुमार झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, दीपेन्द्र रावत र अर्जुन घर्ती छन् । विदेशी खेलाडीमा शिखर धवन, हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मक्सुद छन् ।
जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेख, कप्तान अनिलकुमार साह तथा अन्य खेलाडीमा ललितनारायण राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । विदेशी खेलाडीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका बेन माइक छन् ।
प्रतिक्रिया राख्नुहोस्