बिशेषराजनीति

उपनिर्वाचन : कांग्रेसलाई धक्का, एमाले, माओवादी र रास्वपाले सिट थपे

सत्तारुढ दलहरुका लागि प्रतिष्ठा र नयाँ तथा विपक्षी दलका लागि हैसियत देखाउने मौकाका रुपमा रहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसले घाटा व्यहोरेको छ ।

सरकारमा रहेको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले २०७९ सालमा प्राप्तमध्ये धेरै सिट गुमाएको छ । सोमबार दिउँसोसम्म सार्वजनिक ३८ स्थानको मत परिणाम अनुसार कांग्रेसले १८ स्थानमा जितेको छ ।

उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भने पनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ ।

कीर्तिपुर नगरपालिकाको प्रमुखको मतगणना जारी छ । ताजा स्थितिमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले १८९२ मत पाउनुभएको छ भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले १३७८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१६ मा विजयी भएको छ । यसअघि नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएको सो क्षेत्रमा रिजाल राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी हुनुभएको छ ।

उपनिर्वाचनबाट जनता समाजवादी नेपाल, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले सिट थपिसकेका छन् । जसपा नेपालले गत चुनावमा जितेको मध्ये एउटा पद मात्रै रिक्त भएको थियो । यो उपचुनावमा जसपा नेपालले दुई पद जितिसकेको छ ।

अहिलेसम्म नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही सिट थपिसकेका छन् । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेका ८ र एमालेले जितेका ७ स्थान रिक्त थिए ।

हालसम्मको परिणाममा एमालेले ८ पदमा र माओवादीले ७ स्थानमा जित निकालिसकेका छन् । अहिले सबैको चासो कीर्तिपुर नगरपालिका प्रमुखको नतिजामा अडेको छ ।

माओवादीले मोरङको ग्रामथान गाउँपालिकामा जित निकालेको छ । यहाँ माओवादी केन्द्रका नमोनारायण माझी विजयी भए । माझीले ६९६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए ।

एमालेका तुलसीराम विश्वास ४१५९ मत ल्याएर तेस्रो भए । २०७९ साल वैशाखमा सम्पन्न चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । त्यसबेला कांग्रेसका जयप्रकाश गच्छदार थारु ७६०५ मत ल्याएर विजयी भएका थिए ।

जाजरकोटको नलगाडको उपमेयरमा पनि माओवादीले जितेको छ । ४२७२ मत ल्याएर माओवादीकी देवका लामिछाने विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन । एमालेकी सुनिता बोहरा २५४२ मत ल्याउँदै तेस्रो भइन् ।

यो पालिकामा २०७९ सालमा माओवादी र कांग्रेसका बीचमा गठबन्धन थियो । गठबन्धनबाट मेयरमा माओवादीका डम्मरबहादुर रावत र उपमेयरमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए ।

२०८० कात्तिक १७ गते भूकम्पमा परी सिंहको मृत्यु भएपछि रिक्त पदमा भएको उपचुनावको परिणाम माओवादीले आफ्नो पक्षमा पारेको हो ।

एमालेले पनि विगतमा चुनाव नजितेको क्षेत्रमा चुनाव जितेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् । २०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.