राजनीति

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार भएको जानकारी दिंदै यसलाई अझै प्रभावकारी बनाउन आवश्यक सुझाव दिन सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।

सोमबार अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस तथा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)को ३० औँ वार्षिकोत्सवको अवसर आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा उहाँले शिक्षामा बालबालिकाको सहज पहुँच र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तयार भएको कार्ययोजनालाई प्रभावकारी बनाउनुपर्ने भएकाले सबैलाई सुझाव दिन आग्रह गर्नुभयो ।

पछिल्लो वा २०७८ सालको जनगणनाअनुसार देशभर आधारभूत शिक्षा उमेर (५–१२ वर्ष)का ४५ लाख ११ हजार २ सय ३० रहेका छन् भने अझै पनि दुई लाख १३ हजार ७२ आधारभूत शिक्षा उमेर समूहका बालबालिका विद्यालय बाहिर छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार औसतमा आधारभूत तहमा झन्डै तीन प्रतिशत बालबालिकाले विद्यालय छोड्ने गरेका छन् ।

कार्यक्रममा मन्त्री भट्टराईले कार्ययोजनाको नीतिगत तथा कानुनी प्रबन्धमा २०८१ माघसम्म मन्त्रालयले अनिवार्य शिक्षाको लागि सङ्घ, प्रदेश र स्थानीय तहको कार्य क्षेत्र र जिम्मेवारी स्पष्ट गर्ने र २०८१ वैशाखसम्म अनौपचारिक तथा अनियमित रूपमा सिकेको ज्ञान र सीपलाई औपचारिक शिक्षाको समकक्षी हुने नीतिगत व्यवस्थासहित आधार तयार गरेको जानकारी दिनुभयो ।

उहाँले उक्त कार्ययोजना कार्यान्वयनका लागि सरकारले हाल विनियोजन गर्ने बजेटको २० प्रतिशत लाग्ने हुँदा सबैलाई दबाब सिर्जना गर्न आग्रह गर्नुभयो । यो ऐन कार्यान्वयनका लागि बनेको कार्ययोजना प्रभावकारी बनाएर कार्यान्वयन गर्न सकेमा बाल अधिकारको क्षेत्रमा ठुलो उपलब्धि हुने उहाँको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् बाल अधिकारकर्मी गौरी प्रदानले तीन दशकको दौरानमा सिविनले निकृष्ट बालश्रमको अन्त्य र शैक्षिक सुधारमा धेरै काम गरेको बताउनुभयो । यस संस्थाले आफ्नो अभियानमार्फत उपत्यकामा आधुनिक दासताको यातनापूर्ण जीवन बिताई रहेका घरेलु बालश्रमिकको न्यायका लागि राम्रो काम गरेको उहाँको भनाइ छ ।

सिविसका अध्यक्ष विमला ज्ञवालीले यस अवधिमा सिविसले आफ्ना घरमालिक, छिमेकी, शिक्षकलगायतबाट यौन दुर्व्यवहारमा परेका दुई हजारभन्दा बढी बालबालिकाको उद्धार र ३०० भन्दा बढीको अदालतमा मुद्दा दायर गरेर पीडित बालबालिकालाई क्षतिपूर्ति र पीडकलाई सजाय दिन सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा दासताविरूद्धका अभियानमा लागेकी अभियन्ता उर्मिला चौधरीलाई सम्मान प्रदान गरियो । उर्मिलाले आफू १२ वर्ष कमलरीको रूपमा काम गरेर ठुलो संर्घषपछि त्यसबाट मुक्त भई दासताविरुद्धको अभियानमा निरन्तर काम गर्दै आउनुभएको छ । उहाँको कामको कदरस्वरूप सो सम्मान प्रदान गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.