पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले पराजित गर्दै जनकपुरले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।
जनकपुर वोल्ट्सले शनिबार पहिलो खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएको थियो । कर्णालीको लागि गुलसन झाले २७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए भने अर्जुन घर्तीले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३३ रन जोडे ।
त्यस्तै कप्तान सोमपाल कामीले १३ बलमा ३ चौका र १ छक्काको मद्दतमा २९ रनमा अविजित रहँदा शिखर धवनले १४ र बाबर हायतले १२ रन जोडे । जनकपुरको लागि मोहम्मद मोहसिनले २ विकेट लिए भने ललितनारायण राजवंशी, हर्श ठकर, किशोर महतो र जिमी निशमको भागमा समान १-१ विकेट रह्यो ।
कर्णालीले दिएको १४२ रनको लक्ष्य लिएर मैदान उत्रेको जनकपुरले १५ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुरको लागि कप्तान अनिलकुमार शाहले ४२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेले भने आसिफ शेखले २९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । यी दुईले पहिलो विकेटको लागि ८४ रनको साझेदारी गरेका थिए ।
यस्तै लाहिरु मिलान्थाले १३ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन बनए भने जिमी निसमले ८ बलमा २ चौका र १ छक्काको सहयोगमा १६ रनमा नट आउट रहे । कर्णालीको लागि मौशम ढकाल र जेशन मक्सुदले समान १-१ विकेट लिए । खेलको प्ल्येर अफ दि म्याच अनिलकुमार शाह भए ।
प्रतिक्रिया राख्नुहोस्