पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट नसार्न रुपन्देहीका राजनीतिक दलहरूले आग्रह गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह गरेका छन् ।
संरचना निर्माण नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार नबन्दै वर्तमान काम चलाउ सरकारले यो काम गर्न नमिल्ने उनीहरूले जनाएका छन् ।
नेपाली कांग्रेसले राजधानी लैजाने जिम्मा संरचना निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुुपर्ने माग गरेको छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ प्रदेश सरकार सचेत हुनुुपर्ने उल्लेख गर्नुभएको छ ।
यसैगरी एमाले जिल्ला कमिटी रुपन्देहीले पनि विज्ञप्तिमार्फत अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालय, संसद् भवन र कर्मचारीको आवास व्यवस्थित रहेका अवस्थामा कुनै संरचना नै नभएको स्थानमा जबरजस्ती राजधानी लैजान खोज्नु गलत कदम भएको ठहर गरेको छ ।
पार्टीका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आज विज्ञप्तिमार्फत लुम्बिनी प्रदेशको अस्थायी मुकाम (राजधानी) बुटवलबाट हतारमा सार्ने प्रदेश सरकारको निर्णय र सक्रियताप्रति नेकपा (एमाले) रुपन्देहीको ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार र संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप नगर्न जोडदार माग गर्नुभएको छ । प्रदेश सरकारले तोकेको भौतिक पूर्वाधार निर्माणको कार्यलाई सम्पन्न गरेपश्चात मात्र यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
कामचलाउ अवस्थामा रहेको लुम्बिनी प्रदेश सरकारले नयाँ सरकार गठन नहुँदै बुटवलबाट सबै मन्त्रालय दाङ सार्ने प्रयास गरेपछि कर्मचारी विरोधमा उत्रिएका छन् । स्थायी राजधानी देउखुरीमा पर्याप्त संरचना तयार नहुँदै मन्त्रालय सार्दा समस्या हुने बताउँदै कर्मचारीले सामूहिकरूपमा लुम्बिनी प्रदेशका मुख्य सचिवमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेशसभाबाट दाङको देखुुरी उपत्यका र अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको राप्ती किनारमा लैजाने निर्णय भए पनि अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा काम गर्न नसकिने कर्मचारीको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्