क्रिकेटखेल

एनपिएलमा काठमाडौँ गुर्खाजको पहिलो जित, कर्णाली याक्स तीन विकेटले पराजित

कर्णाली याक्सको लगातार दोस्रो हार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको पहिलो खेलमा कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै काठमाडौँले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

जारी प्रतियोगितामा कर्णालीको भने यो लगातार दोस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनाएको थियो ।

कर्णालीका लागि शिखर धवनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित रहँदै ७२ रनको योगदान दिए । यसअघि जनपुर बोल्टसंगको पहिलो खेलमा धवन १४ रनमा आउट भएका थिए ।

त्यसै गरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ , गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।

बलिङतर्फ काठमाडौँका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक-एक विकेट लिए । कर्णालीले दिएको एक सय ५० रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाडौँले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

काठमाडौँको लागि सुमित महर्जनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ४० रनमा अविजित रहे भने जेहार्ड एरास्मसले २८ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाए।

त्यस्तै कप्तान करण केसीले १० बलमा दुई चौका र दुई छक्काको सहयोगमा २८ रन बनाए भने माइकल लेभिटले १९ बलमा २२ रन जोडे । कर्णालीको लागि सोमपाल कामी, गुलसन झा, नन्दन झा, जिशन मक्सुद र बिपिन शर्माले समान १-१ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.