सूचना/प्रविधि

सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने ?

सामाजिक सञ्जाल सदुपयोग गरे लाभैलाभ र यसको प्रयोगमा शतर्क नभए ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । दुरुपयोगबाट ठगी परिने मात्र होइन इजजत प्रतिष्ठा समेत गुम्न जान्छ ।

यदि सही प्रयोग गरे यसबाट लाभ लिने धेरै बाटाहरु हुन्छन् । नेपालमा सामाजिक सञ्जालको प्रयोग व्यापक भैरहेका बेला सही र सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने भन्ने सर्वाधिक चासोको विषय बनेको छ ।

यसै विषयलाई लिएर गत हिजो मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र टिकटक डिजिटल प्लेटर्फमले सरोकारवालामाझ छलफल चलाएको छ ।

काठमाडौंमा आयोजना भएको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा टिकटकजस्ता सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने ? विषयमा सामूहिक छलफल गरिएको हो ।

यसै क्रममा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुर, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल, टिकटकका पब्लिक पोलिसी प्रोग्राम्स एन्ड पाट्नरसिप्स प्रमुख जारा बसहरत हिग्स् र टिकटक क्रिएटर सोर्वस् घिमिरेबीच सामूहिक छलफल भएको थियो ।

चाइल्ड सेफनेट संस्थाका अध्यक्ष अनिल रघुवंशीले छलफलमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । सामूहिक प्रश्नमा उहाँले टिकटकबाट सुरक्षित हुन के गर्ने ?

प्रश्नमा मन्त्रालयका प्रवक्ता ठाकुरले सरकारको तर्फबाट बोल्दै नियम र ऐन बलियो बनाएर कार्यान्वयन गर्ने तयारी भएको बताउनुभयो । उहाँले टिकटक मर्यादित बनाउन अरु सरोकारवालाको साझेदारी आवश्यक हुने धारणा राख्नुभयो ।

त्यस्तै छलफलका वक्ता जाराले टिकटक सही तरिकाले प्रयोग गर्न शैक्षिक जागरण फैल्याउनुपर्नेमा जोड दिनुभयो । जाराकाअनुसार अभिभावक र शिक्षकले बालबालिकामा सही तरिकाले टिकटकको सही प्रयोग गर्न सिकाउनु अहिलेको आवश्यकता हो ।

अबको दुई वर्षमा सामाजिक सञ्जालको प्रयोगले समाजमा के कस्ता चुनौती आउन सक्छन ? भन्ने प्रश्नमा डिजिटल राइट्स नेपालका निर्देशक सन्तोषले सीमान्तकृत समुदाय, महिला र बालबालिका बढी जोखिममा पर्नसक्ने धारणा राख्नुभयो ।

टिकटक क्रिएटर घिमिरेले आफूले समाजलाई सकारात्मक दिशातर्फ बढाउने खालका श्रव्यदृश्य सन्देश दिएर मर्यादित टिकटक प्रयोगकर्ता बन्दै आएको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत अपराधिक गतिविधि बढ्दै गएको बताउनुभयो । उहाँले ऐन र कानुनको कार्यान्वयनसँगै आमचेतनासमेत जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार खास गरी महिला र बालबालिका सामाजिक सञ्जालको दुरुपयोग गरी पीडित भएको अवस्था छ ।

यसै क्रममा सामाजिक सञ्जालको सही प्रयोग गर्न जनचेतनामूलक कार्यक्रम सुरु गर्न टिकटक र चाइल्डसेफनेटसँग सम्झौता हस्ताक्षर भएको छ ।

चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, सुनसरी र मोरङका जिल्लाका १४ विद्यालयमा सामाजिक सञ्जालको सही प्रयोग गर्ने तालिम दिने सहमति भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.